बागलुङ/संविधान र कानूनले जातीय विभेद अन्त्य गरेपनि व्यवहारमा परिवर्तन नभएको सरोकारवालाले बताएका छन् । उनीहरुले विभेदका स्वरुप फेरिएको पनि बताए । साथै, दलीत सशक्तीकरणले मात्र विभेद अन्त्य नहुने भन्दै गैर दलीतको पनि सशक्तीकरण चाहिएको उनीहरुको भनाई थियो ।
पछिल्लो समय दलीतमाथी भौतिक आक्रमण लगायतका घटना समेत भएको उनीहरुको भनाई छ । सिराहामा भएको घटना निन्दनीय भन्दै दोषीलाई कारवाही गर्नुपर्ने धारणा समेत अधिकारकर्मीहरुले बताएका छन् ।
६० औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवशको अवसरमा आयोजित कार्यक्रममा अधिकारकर्मीहरुले समतामूलक समाज स्थापनामा सबै जाती, क्षेत्र र वर्गको साथ र सहयोग चाहिने बताएका हुन् । बागलुङ नगरपालिका, सामाजिक विकास कार्यालय र संयुक्त राजनीतिक दलीत संघर्ष समितिले आयोजना गरेको दिवशको अवसरमा आयोजित अन्तरक्रियाका सरोकारवालाले दलीत माथी हुने भेदभावविरुद्व सबै उत्रिनुपर्ने बताए । साथै दोषीलाई कारवाहीको भागीदार नबनाएसम्म पीडितहरुले न्याय नपाउने र भोलीका दिनमा पनि यस्ता घटना दोहोरिन सक्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले राज्यले विभेदकारी नीति नलिए पनि बेला बेला हुने घटना र पात्रहरुलाई कारवाही गरेर पीडितलाई न्याय दिन सक्नुपर्ने बताए । त्यस्ता घटना बाहिर ल्याउन पनि उनले आग्रह गरेका थिए ।
कार्यक्रममा अधिकारकर्मी तथा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोबिन्द नेपालीले जातीय विभेद योजनाबद्द रुपमा अगाडि बढीरहेकोले त्यस्ता पात्रहरु कानूनी कठघरामा जानुपर्ने बताए । उनले दलीत सशक्तीकरण गरेर नभई अन्य जातीको सशक्तीकरणबाट विभेद अन्त्य गर्नुपर्ने उनले बताए ।
उक्त अवसरमा दलीत महिला तथा जनप्रतिनिधिका लागि नेतृत्व विकास तालिम र अन्तरक्रिया पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अधिवक्ता कुन्जना परियारले प्रशिक्षण गरेकी थिइन् । साथै, मानवअधिकार तथा शान्ति समाज बागलुङले पनि विभेदबिरुद्द ऐक्कवद्दता जनाएको थियो । समाजका अध्यक्ष फडिन्द्र आचार्यले ऐक्कवद्दताको प्रस्तुतीकरण समेत गरेका थिए । समाजले विभेद विरुद्दको अभियानमा साथ दिने प्रतिवद्दता जनाए ।
संयुक्त राजनीतिक दलीत संघर्ष समितिका संयोजक टिकाकुमारी विश्वकर्माको अध्यक्षता, बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्यको संचालन र सामाजिक विकास कार्यालयका प्रमुख हिमाल घर्तीमगरको स्वागतमा सम्पन्न कार्यक्रममा समितिका सचिव ताराबहादुर विकले पनि जातीय विभेद बिरुद्दको अभियानको ऐतिहासिक पृष्ठभूमीबारे प्रस्तुती गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, नेपाली कांग्रेसका जिल्ला सदस्य जगन्नाथ आचार्य लगायतले शुभकामना मन्तव्य पनि व्यक्त गरेका थिए ।





