पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमविरुद्ध पार्टीलाई क्षति पुराउने काममा संलग्न रहेको र स्वेच्छाचारी बनेको भन्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ । तर यो विषय मिलिसकेको रास्वपा गण्डकीले जनाएको छ ।
रास्वपा प्रदेश महामन्त्रीसहित १५ जनाले कार्यवाहक महामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई यही चैत २ मा जिम्मेवारी फेर्न भन्दै पत्र पठाएका थिए । गौतमको क्रियाकलाप, अभ्यास, व्यवहार पार्टीको मूल्य–मान्यताविपरीत रहेको र उनी स्वेच्छाचारी बनेको पत्रमा उल्लेख थियो । ‘गौतमको क्रियाकलाप, अभ्यास र व्यवहार, पार्टीको विधि–विधान, मूल्य र मान्यताविपरीत साथै स्वेच्छाचारी ढंगले चलाउँदै आएकोले यस्ता गतिविधिले पार्टीलाई प्रदेशमा ठूलो क्षति पुग्दै गएको र आगामी दिनमा थप क्षति पुग्ने देखिएकाले गौतमको जिम्मेवारी हेरफेर गरी कारबाही गरी पाऊँ’, पत्रमा भनिएको छ । गौतमको विषयमाथि निर्णय नहुँदासम्म आफुहरुले गर्दै आएको जिम्मेवारीमा निष्क्रिय रहने भनि निवेदकले भनेका थिए ।
प्रदेश अनुशासन आयोग प्रमुख योगेन्द्र केसी, महामन्त्री नवीन त्रिपाठी, संगठन विभाग सचिव एकराज न्यौपाने, कोषाध्यक्ष लक्ष्मी अधिकारी, प्रवक्ता विकास भुर्तेल, सदस्यहरू हेम सुवेदी, अशोक खड्का, अनीषा अधिकारी, शितला थापा, विनोद विक, समिउन निशा, गीता सुनार, राममाया बस्ताकोटी, योगराज पौडेल र डिल्लीराम कोइरालाले हस्ताक्षर गरे उजुरी दिएका थिए । गौतमले पदाधिकारीको जिम्मेवारी हेरफेर, विभाग गठन, जिल्ला समिति गठनमा एकलौटी गरेको, वडा र जिल्ला भेलामा महामन्त्रीलाई थाहै नदिई एक्लै जाने गरेको, नवलपुर मात्र केन्द्रीत भएको, पार्टीभन्दा पनि व्यक्तिगत राजनीतिलाई केन्द्रमा राखेको आरोप उनीहरु थियो ।
रास्वपा गण्डकी समितिका महामन्त्री नविन त्रिपाठीले उजुरी परेको स्विकार्दै अहिले उक्त विषय टुंगिएको बताए । ‘बैठक बसेर अध्यक्ष ज्यूले कार्यशैलीमा सुधार गर्छु, सबै साथीहरुलाई समेटेर लैजान्छु भनेपछि यो विषय सट्डाउन भइसकेको छ’, उनले भने, ‘उहिलेको बिषय अहिले आएर सार्वजनिक हुँदा अचम्मित भएका छौ ।’





