पोखरा/ पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । यही चैत ५ गतेका लागि निर्धारित मतदान मतपत्रमा त्रुटी देखिएपछि स्थगित भएको थियो । त्यसपछि आजलाई मतदानको मिति सारिएको थियो ।
क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लवी न्यौपाने २ जना स्वतन्त्र उम्मेदवार छन् । बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् । ९ हजार २ सय ७० मतदाता रहेको क्याम्पसमा १६ वर्षपछि निर्वाचन हुन लागेको हो ।
एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसको नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् । समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् । अहिले बिहान ८ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।





