बागलुङ/ कार्यस्थलमा खटिने पत्रकार र संचार माध्यमका कर्मचारीको दुर्घटना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङले क्रियाशिल पत्रकार, संचार माध्यममा काम गर्ने संचारकर्मी र कर्मचारी समेतको दुर्घटना बीमा गराएको हो ।
महासंघले बागलुङ नगरपालिका–२ को सहयोग र नेको इन्सोरेन्स कंपनीको सहकार्यमा बीमा गराएको हो । प्रतिव्यक्ति दुइलाख रुपैयाँसम्मको दुर्घटना बीमा स्वरुप उपचार खर्च पाउने गरी बीमा गराइएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’ ले बताए ।
बागलुङ नगरपालिका–२ का अध्यक्ष सुरज बोसेलले चालुबर्षको बिपत जोखिम न्युनिकरण अभियान अन्र्तगत ९९ जना पत्रकारको दुर्घटना बीमा गराएका हुन् । ‘दैनिक रात दिन नभनी फिल्डमा खटिएका पत्रकारहरुको जोखिम कम गर्ने र केही भएमा तत्काल उपचार गराउन सकिने गरी बीमा गरिएको हो’ बोसेलले भने, ‘यो सन्देशले अन्य क्षेत्रका जनप्रतिनिधि, स्थानीय सरकार समेतले आम नागरिक र पेशागत क्षेत्रका व्यक्तिको स्वास्थ्य र सुरक्षामा ध्यान दिनेछन् ।’ उनले यो अभियानलाई वडाले नियमित गर्ने समेत बताए । पहिलो चरणमा दुइ बर्षकालागि बीमा गरिएको हो ।
आइतवार महासंघका अध्यक्ष राम थापा ‘अबिरल’, वडा अध्यक्ष सुरज बोसेल र नेको इन्सोरेन्स कंपनी लिमिटेडकी शाखा प्रबन्धक अन्जिला श्रेष्ठले बीमा पोलिसी हस्तान्तरण गरेर अभियानको थालनी गरे । श्रेष्ठले पत्रकारको बीमाले आम नागरिकलाईपनि सचेत बनाउने बताइन् । गत मंसिर २८ गतेको अधिवेसनबाट निर्वाचित महासंघको बैठकले पत्रकारको दुर्घटना बीमा गर्ने निर्णय गरेको थियो ।





