पोखरा/ प्रदेश लोकसेवा आयोग गण्डकीले आयोग गठन भएयता प्रदेश र स्थानीय तहकालागि २९५० कर्मचारी सिफारिश गरेको छ । स्थानीय तहमा २ हजार ४ सय ६ र प्रदेशमा ५ सय ४४ गरी तेस्रो तहदेखि एघारौं तहसम्मका २ हजार ९ सय ५० जना उम्मेदवार छनौट गरी सिफारिस गरिएको आयोगले जनाएको छ । यसैगरी बढुवाका लागि ६ सय ६९ पदको विज्ञापनबाट प्रदेशमा ४ सय १६ र स्थानीय तहतर्फ ५२ गरी ४ सय ६८ जना सम्बन्धित बढुवा समितिमार्फत बढुवा सिफारिस भएका छन् ।
आयोग सोमबार चौथो वर्ष पूरा गरी सोमबार पाँचौं वर्षमा प्रवेश गरेको छ । सातवटै प्रदेशमध्ये सबैभन्दा पछि गण्डकीमा आयोग स्थापना भए पनि गण्डकीकोे कार्य सम्पादन चुस्त र प्रभावकारी रहेको भन्दै संघीय लोकसेवा आयोगका अधिकारीहरुले समेत प्रशंसा गर्दै आएका छन् । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ अनुसार २०७७ चैत ११ गते आयोग गठन भएको थियो । आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आयोगले सुरुवाती अवस्थामा कार्यालय व्यवस्थापनदेखि नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड, आचारसंहिता लगायतका आफ्ना कानुनी प्रबन्ध गरेर यहाँसम्म आइपुगेको बताए । आयोगलाई प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेशको अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा तथा स्थानीय तहको संगठित संस्थाको पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने अधिकार छ ।
आयोगले आज सोमबार विशेष समारोहका साथ वार्षिकोत्सव मनाउँदैछ ।





