आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

स्वतन्त्र रूपमा आफ्नो गरिमालाई जोगाइरहनु लोक सेवा आयोगको चुनौतीः प्रदेश प्रमुख भट्ट

स्वतन्त्र रूपमा आफ्नो गरिमालाई जोगाइरहनु लोक सेवा आयोगको चुनौतीः प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८१, सोमबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकसेवा आयोग राष्ट्रको सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको बताएका छन् । उनले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुुण्ण राख्नु आयोगका लागि चुनौतीपूर्ण रहेको पनि उल्लेख गरे ।

प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशको चौथो वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले आयोगले गरेको काम र भूमिकाको प्रशंसा पनि गरे । ‘देश संघीय संरचनामा रूपान्तरण भएसँगै जारी हुनुपर्ने संघीय निजामती सेवा ऐन जारी नभएको विषम परिस्थितिमा पनि प्रदेश सरकार र प्रदेश लोकसेवा आयोगबाट प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह हुँदै आएको छ,’ उनले भने ।

पाठ्यक्रमलाई आवधिक रुपमा परिमार्जन एवम् अध्यावधिक गर्ने, परीक्षा प्रणालीमा सामयीक सुधार गर्ने जस्ता विधि र प्रक्रिया अवलम्बन गरी उम्मेदवारको परीक्षण र छनौट प्रणालीको गुणस्तरीयता कायम गर्दै योग्यता प्रणालीको संरक्षण गर्नमा प्रदेश लोकसेवा आयोग निरन्तर क्रियाशील रहनेछ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । प्रदेश प्रमुख भट्टले संविधान र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका कार्यहरुको अलावा स्मारिका प्रकाशनजस्ता रचनात्मक कार्यहरु समेत गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि नियमित कार्यहरुको प्रभावकारिता अभिवृद्धि गर्दै थप रचनात्मक कार्यहरु गर्न उत्प्रेरणा र सफलता मिलोस् भन्ने कामना पनि गरे ।

प्रदेश प्रमुख भट्टले लोकसेवा आयोग गण्डकी प्रदेशले प्रकाशित गरेको स्मारिका समेत लोकार्पण गरे । प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश, पोखराका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, विपक्षी दलका नेता हरिबहादुर चुमान, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्ट लगायतले बोलेका थिए । उक्त अवसरमा उत्कृष्ट कर्मचारीबाट उपसचिव दामोदर सुवेदीलाई नगद १० हजार र सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो । यस्तै, आयोगको लोगो निर्माण गर्ने जगदीश्वर पाण्डेलाई नगद ४० हजारले पुरस्कृत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->