आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

संवैधानिक निकायको प्रमुखलाई संघीयताविरुद्ध बोल्न छुट नभएको मुख्यमन्त्री पाण्डेको भनाई

संवैधानिक निकायको प्रमुखलाई संघीयताविरुद्ध बोल्न छुट नभएको मुख्यमन्त्री पाण्डेको भनाई


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८१, सोमबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संवैधानिक निकायका प्रमुखलाईं संघीयताका विरुद्धमा बोल्ने अधिकार नरहेको बताएका छन् । संघीय लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको भनाइप्रति उनको यो भनाई लक्षित थियो ।

मुख्यमन्त्री पाण्डेले राजनीतिक दलका नेता मात्र नभई सरकारी जिम्मेवारीमा बसेका कोही कसैलाई संविधानको विरुद्धमा बोल्ने अधिकार नभएको बताएका हुन् । आयोग अध्यक्ष रेग्मीले प्रदेशका आयोगमाथि बारम्बार प्रश्न उठाउँदै खारेजी गर्नुपर्ने सम्मका भनाइ राख्दै आएका छन् । साथै गण्डकी प्रदेशले प्रदेश निजामति ऐन विपरीत करारका कर्मचारी राख्ने उद्देश्यले अध्यादेशमार्फत ऐन संसोधन गरेकोप्रति पनि रेग्मीले असन्तुष्टी जनाएका थिए ।

प्रदेश लोकसेवा आयोग गण्डकीको चौथो वार्षिकोत्सव कार्यक्रममा सोमबार पोखरामा बोल्दै मुख्यमन्त्री पाण्डेले संविधानको कसम खाएर संवैधानिक निकायको नेतृत्व गरेको व्यक्तिले त्यसैकोविरुद्धमा गएर बोल्न नहुने बताए । प्रदेशका लोकसेवाको अधिकारका बारेमा कानुनले नै प्रष्ट किटान गरेको भन्दै उनले एउटा संवैधानिक आयोगको अध्यक्षले गैर जिम्मेवारी कुरा गर्न नपाइने बताए । ‘उहाँ (रेग्मी) को तागत चलेर संघीयता खारेज गरेमा प्रदेश लोकसेवा आयोग रहन्नँ’, उनले भने, ‘जबसम्म यो व्यवस्था रहुन्जेल संघीय लोकसेवा आयोगको अध्यक्षका नाताले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन पाइँदैन ।’ मुख्यमन्त्री पाण्डेले राजनीतिक दलका नेता र कर्मचारी तन्त्रमा समेत पुरानै व्यवस्थाको धङधङी कायम रहेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संघीय लोकसेवा आयोगका अध्यक्षले प्रदेशप्रति गरेको टिप्पणिको प्रसंग उठाएपछि मुख्यमन्त्रीले यस्तो भनाइ राखेका हुन् । मेयर आचार्यले ७ प्रदेशमध्ये सबैभन्दा ढिला स्थापना भएर पनि स्वच्छ तरिकाबाट गण्डकीको आयोगले सम्पादन गरेको काम अनुकरणीय रहेको बताए ।

प्रदेश लोक सेवा आयोग गण्डकीका अध्यक्ष विष्णुप्रसाद नेपालले संघीय आयोगका अध्यक्षको भनाइप्रति आफूहरुले लिखित रुपमै असहमति जाहेर गरेको बताए । गत फागुन २३ र २४ गते विराटनगरमा भएको लोकसेवा आयोगहरुको सम्मेलनमा लिखित र मौखिक रुपमै अध्यक्ष रेग्मीको भनाइप्रति सातै प्रदेशका आयोगले असहमति प्रकट गरेको उनले जनाए । आयोग सदस्य कल्पना लम्सालले आयोगका गतिविधि र चुनौतीका बारेमा प्रस्तुति गरिन् भने अर्का सदस्य योगेन्द्र गौचनले स्वागत गरे । कार्यक्रम सञ्चालन आयोग सचिव रुद्रप्रसाद पण्डितले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->