
पोखरा/ घरायसी स्वच्छ उर्जाको रुपमा रहेको बिद्युतीय चुलोको प्रयोग बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । उनीहरुले विद्युतीय चुलोको निर्वाध प्रयोगका लागि विद्युत आपूर्ति सहज हुनुपर्ने पनि बताए ।
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (नेकन) र धौलागिरी सामुदायिक स्रोत बिकास केन्द्र (डिसिआरडिसी) बागलुङको आयोजनामा विद्युतीय चुलो प्रवद्र्धन विषयक प्रादेशिक कार्यशालाका सहभागीले विद्युतीय चुलोको महत्वबारे सर्वसाधारणलाई बुझाउनु पर्ने बताए । प्राक्टिकल एक्सनको प्राविधिक सहयोगमा आज पोखरामा भएको कार्यशालामा गण्डकी प्रदेश सरकारका मन्त्री, सचिव स्थानीय तह, निजी क्षेत्र र साझेदार संस्थाको सहभागिता थियो । बिद्युतीय चुलोको प्रयोगले जनजीवनमा सकरात्मक प्रभाव पर्ने भएकाले यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्ने सहभागीको भनाई थियो । स्थानीय र प्रदेश सरकारका नीति निर्माणमा पनि सहयोग पुग्ने विश्वासले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यशालाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले ग्रामीण विद्युतीकरणमा महासंघको ठूलो योगदान रहेको बताए । साथै बिद्युतीय चुलोको प्रवद्र्धनका लागि स्थानीय तहसंग सहकार्य गर्दै अघि बढेमा सफल हुने उनको भनाई थियो । ‘विद्युतीय चुलोमा दिन सकिने अनुदान, छुटलगायत सबै प्रकारका सहयोग गर्न प्रदेश सरकार तयार छ’, मन्त्री बस्यालले भने, ‘विद्यूतीय चुलोको प्रवद्र्धनमा सबै पक्ष लाग्नु पर्छ ।’
प्राक्टीकल एक्सनका राष्ट्रिय निर्देशक पुजा शर्माले ६ वर्ष अघि गण्डकीमा पाइलट प्रोजेक्टको रुपमा बिद्युतीय चुलो सम्बन्धि कार्यक्रम सुरु भएको बताइन् । सन् २०३५ सम्ममा नेपालका १९ लाख परिवारमा विद्युतीय चुलो पुराउने नेपाल सरकारको लक्ष्य रहेको उनको भनाई थियो । साथै विद्युतीय चुलोमा सबै प्रकारका खाना पकाउन सक्ने बनाउने पनि नेपालले अन्तराष्ट्रिय रुपमा प्रतिवद्धता पनि जनाएको छ ।
डिसीआरडिसिकी अध्यक्ष सिर्जना थापाले गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, पर्वत, कास्की, स्याङजा, तनहुँ र गोरखा गरी ७ जिल्लामा विद्यूतीय चुलो प्रवद्र्धनका काम भइरहेको बताइन् । नेपालमा बिद्यूतीय चुलोको दिगो बजार बिकास परियोजनाबारे प्राक्टिकल एक्सनका प्रोजेक्ट म्यानेजर बासुदेव उपाध्यायले जानकारी दिदैँ सन् २०१९ देखि गण्डकी र कोशी प्रदेशमा कार्यक्रम सुरु भएको जनाए । उनका अनुसार गण्डकीमा १३ हजार र कोशी प्रदेशका १० जिल्लामा २१ हजार घरमा बिद्युतीय चुलो पुराएको र २ वर्षको अवधिमा थप २५ हजार घरमा पुराउने लक्ष्य राखिएको छ । ‘नेपालमा अहिले पनि ५५ प्रतिशत भन्दा बढी घरमा दाउरा, गुइँठाजस्ता ठोस इन्धनको प्रयोग गरिन्छ’, उनले भने, ‘यो धेरै कमसल इन्धन हो । वातावरण र स्वास्थ्यमा नकरात्मक असर पुराउँछ । न्यूमोनिया, दीर्घखोकी, श्वासप्रश्वास सम्बन्धि रोग, फोक्सोको क्यान्सर घरभित्रको धुवाँले गर्दा हुन्छ ।’ यसर्थ स्वच्छ उर्जाको रुपमा रहेको विद्युतीय चुलोको माग बृद्धि र उपयोग बढाउने योजना रहेको सुनाउँदै उनले यसले वायु प्रदुषण शुन्य प्रतिशत हुने, प्रयोग गर्न सुरक्षित र सजिलो हुने, समयको बचत, लागत कम (ग्यास भन्दा ३५ देखि ४०प्रतिशत कम खर्चिलो) हुने, स्वदेशी उर्जाको प्रयोग जस्ता फाइदा हुने बताए । अहिले विद्यूतीय चुलोमा केही अनुदान रहेको, केही लक्षित समुदायमा विद्युत महशुल र वायरिङमा समेत सहयोग उपलब्ध हुने उनले जनाए । नेपाल सरकारले २०७४ मा विद्युतीय चुलो प्रयोग गर्ने विषयमा श्वेत पत्रसमेत जारी गरिएको थियो ।
बिद्युतीय चुलोको प्रयोग बढाउन नीतिगत तथा अन्य व्यवहारिक पक्ष, चुलो गुणस्तरलगायत विषयमा प्यानल छलफल पनि भयो । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव डा.राजन भट्टराई, प्रदेश नीति तथा योजना आयोगका सचिव टंकप्रसाद पाण्डे, नेपाल विद्युत प्राधिकरण प्रदेश कार्यालयका प्रमुख मनोजकुमार यादव, कास्कीको रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ, वाग्ले इलेक्ट्रोनिक्सकी संचालक रमा वाग्ले, डिसीआरडिसीकी अध्यक्ष सिर्जना थापासंग संचारकर्मी कृष्णा पौडेलले छलफल चलाएकी थिइन । उक्त अवसरमा यादवले गण्डकी प्रदेशमा विद्युतको अभावमा विद्युतीय चुलो प्रयोग गर्न नसकिने अवस्था नरहेको स्पष्ट पारे । यदी कहिकतै ट्रान्सफर्मर र प्रसारण तारका कारण समस्या आएको भए त्यसलाई तुरुन्त चेन्ज गर्नेसमेत उनले बताए । सचिव भट्टराइले प्रदेशभरीका ९९.८ प्रतिशत् घरमा विद्युत पुगिसकेको दावी गरे ।
नेकन अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद लक्ष्मणबहादुर पाण्डे, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकीका अध्यक्ष कालीदास सुवेदी, गैसस महासंघ कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, नेकन महासचिव गोविन्द पौडेललगायतले बोलेका थिए ।





