पोखरा/ सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखरामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्र प्रहरीकै एक निरीक्षक र हवल्दार गरी २ जना पुर्पक्षका लागि थुनामा परेका छन् । महतको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गर्न संलग्न रहेको अभियोग लागेका तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत निरीक्षक विवेक जोशी र लामापाटन शिक्षालयमा कार्यरत हबल्दार रेशमबहादुर शाही पुर्पक्षका लागि थुनामा गएका हुन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको ।सोमबारको इजलासले जोशी र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।महत गत फागुन १० गते राती हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै महतका परिवारजनले भोलिपल्टै जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए । जाहेरीलगत्तै जोशी पक्राउ परेका थिए भने प्रहरी अनुसन्धानकै क्रममा चैत ६ गते हबल्दार शाही पनि पक्राउ परेका थिए ।
स्वर्गीय महत र जोशीबीच प्रेम सम्बन्ध रहेको परिवारले बताएको छ । प्रहरीले यही चैत ८ गते घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको थियो । मुलुकी अपराध संहिताको १८५ बमोजिम मागदाबी गर्दै सरकारी वकिलको कार्यालयले र्चत ९ मा अदालतमा अभियोगपत्र दर्ता गराएकोमा सोमबार यस्तो आदेश आएको हो । आत्महत्या गर्न दुरुत्साहन दिने कार्यमा संलग्न हुनेलाई ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।
महत मृत्यु प्रकरणको घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंह नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ । महत २०७२ सालमा सशस्त्र प्रहरीको सिपाहीमा भर्ती भएकी थिइन । २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । यही साल इन्स्पेक्टरमा नाम निकालेर पोखरामै तालिम लिइरहेकी थिइन् ।





