आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कुलमान हटाइएको विषय गण्डकी प्रदेश सभामा पनि प्रवेश, कालो चस्मा लगाएर बिरोध

कुलमान हटाइएको विषय गण्डकी प्रदेश सभामा पनि प्रवेश, कालो चस्मा लगाएर बिरोध


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०८१, मंगलबार

पोखरा/ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयले गण्डकी प्रदेश सभामा पनि प्रवेश पाएको छ । यस विषयमा सत्ता र प्रतिपक्षका सांसदबीच नोकझोकसमेत चलेको थियो ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रका सांसद हरिबहादुर भण्डारीले घिसिङलाई हटाएर सरकारले ठुलो गल्ती गरेको बताए । उनले कुलमानलाई हटाएको विषयमा कालो चस्मा लगाएर संसद्‌को रोस्ट्रममा उभिएर बिरोधसमेत जनाए । भण्डारीले कुलमानलाई हटाउने सरकारको निर्णयको विरोधमा कालो चस्मा लगाएर रोस्ट्रममा मात्रै उभिएनन्, विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बोल्ने क्रममा सरकारलाई थुप्रै प्रश्नहरु पनि तेर्साउँदै सरकारले बिचौलिया र स्वार्थ समूहको इशारामा चलेको आरोपसमेत लगाए ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हितेन्द्रदेव शाक्य प्रधानमन्त्री केपी ओलीको सालो नभने पनि उनको भनाईप्रति एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले नियमापत्ति गरे र भन्दै नभनेको सालो शब्द संसद्‌को रेकर्डबाट हटाउन माग गरे । यो दृश्य भने रोचक बनेको थियो । यसअघि माओवादीकै सांसद तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले पनि शून्य समयमा बोल्दै कुलमानलाई हटाइएकोप्रति आपत्ति जनाएका थिए ।  गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने क्रममा माओवादी सांसद भण्डारी पनिले बोल्ने समय लिएका थिए । भण्डारीले सिद्धान्तमा समस्या नभए पनि सरकारको सोच र व्यवहारमा समस्या रहेको भन्दै कुलमान हटाइएको विषयमा प्रवेश गरेका थिए ।

‘‘विद्युत विकासको विषयमा छलफल गर्दा सरकारको व्यवहार र सोचमाथि प्रश्न नगरे मलाई जनताले प्रश्न गर्नेछन् । उज्यालो नेपाल बनाउने कुलमान घिसिङमाथि संघदेखि प्रदेशसम्म दुईतिहाइ सरकारले प्रतिगमन गर्दा किन बोलेनौं, सरकारमाथि किन प्रश्न गरेनौं,’ भण्डारीले भने । उनले टुकी बालेर बसेका नेपालीलाई बिजुलीको पहुँच दिनु, मैनबत्ति बालेर उज्यालो भविष्य खोजिरहेकाहरुलाई बिजुली जोडिदिएर सहज बनाइदिनु, घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा ल्याइदिनु कुलमान घिसिङको के अपराध थियो भन्दै प्रश्न गरेका थिए । केन्द्रदेखि प्रदेशको दुईतिहाइको सरकारले जनताको भावनामाथि खेलवाड गरेको आरोप भण्डारीको थियो । अर्का सांसद जुग्जालीले कुलमानलाई हटाएर सरकारले बहादुरीपूर्ण काम गरेको भन्दै व्यंग्य गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->