आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बोल्दै नबोलेको शब्द हटाउन माग गर्दै एक घण्टापछि नियमापत्ति

बोल्दै नबोलेको शब्द हटाउन माग गर्दै एक घण्टापछि नियमापत्ति

कुलमान हटाइएकोमा माओवादी सांसदको विरोध


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०८१, बुधबार

पोखरा/ कुलमान घिसिङ प्रकरणले गण्डकी प्रदेशसभामा पनि विषय प्रवेश पायो । मंगलबार माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले गण्डकी प्रदेशसभामा कुलमान हटाइनुको बारेमा सरकारको आलोचना गरे । कालो चस्मा लगाएर विरोध पनि जनाए ।

बैठकको शून्य समयमा बोल्दै प्रदेश सांसद रेशम जुग्जालीले लोडसेडिङ अन्त्यका लागि ब्यबस्थापकीय भूमिका निर्वाह गरेर देशलाई लोडसेडिङमुक्त बनाउने कुलमानलाई सरकारले बिचौलियाको इसारामा हटाएको आरोप लगाए । ‘पहिलेदेखि नै सरकार बिचौलियाको इशारामा सरकार चलेको आरोप लाग्दै आएको छ । कुलमान हटाउने निर्णयले त्यहि प्रमाणित गरेको छ,’उनले आरोप लगाए ।

माओवादीकै अर्का सांसदले त विधेयकमाथिको छलफलभन्दा बाहिर गएर कुलमानको प्रशंसा र सरकारको आलोचना गरे । प्रदेशसभामा गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिएका माओवादीका हरि भण्डारीले घिसिङको बारेमा सरकारमाथि प्रश्न उठाए ।उनले कुलमान हटाउँदा पनि सरकारमाथि प्रश्न नउठाए जनताले आफैलाई प्रश्न गर्ने बताए ।
‘जनताले मलाई सोध्नेछन्, उज्यालो नेपालका नायक कुलमान घिसिङमाथि संघदेखि प्रदेशसम्म दुइतिहाइको प्रतिगमन गर्दै किन सरकारमाथि प्रश्न गरेनौ भनेर आमजनताले प्रश्न गर्नेछन्,’उनले भने ।

टुकी बालेर बसेका नेपालीलाई बिजुलीको पहुँच दिने, मैनबत्ती बालेर उज्यालो भविष्य खोजिरहेकाहरुलाई विद्युत जोडिदिएर सहज बनाइदिने, घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याइदिने कुलमान घिसिङ के अपराधी थिए ? उनले प्रश्न गरे । कार्यकाल सकिन केही समयमात्र बाँकी छँदा सरकारले हटाउने निर्णय गर्दा आम जनताले नै प्रश्न उठाएको उनले बताए । गण्डकीको पहिलो मन्त्रिपरिषद बैठकले दुइवर्षभित्र उज्यालो प्रदेश घोषणाको निर्णय गरेको थियो । अहिले गण्डकीमा ९९ प्रतिशत घरमा बिजुली पुगेको तथ्यांक मन्त्रालयसँग छ । ‘के कुलमान घिसिङजस्तो नेतृत्व विद्युत प्राधिकरणमा नभएको भए यतिका जनताका घरमा बत्ती बलिरहन सम्भव थियो ? केन्द्रदेखि प्रदेशसम्म कांग्रेस एमालेको दुइतिहाईको सरकार छ । यो सरकार जनताको भावनामाथि खेलवाड गरिरहेको छ । बिचौलिया र माफियाको इसारामा कतै फेरि यो सरकारले मैनबत्ति र टुकीको सहारा लिनुपर्ने अवस्थातर्फ फर्काउन त खोजिरहेको छैन भन्ने प्रश्न उब्जिएको छ,’भण्डारीले भने । सभामुख कृष्णप्रसाद धितालले उनलाई विषयमा केन्द्रित हुन निर्देशन दिएका थिए ।

उनले बोलिसकेको करिब एक घण्टापछि नेकपा एमालेले आपत्ति जनायो । नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले नियमापत्ति गरे । उनले भने, ‘हाम्रो दायित्व भनेको प्रदेशसभा नियमावलीभित्र रहेर संसदलाई सुव्यवस्थित गर्ने पनि हो । पूर्ववक्ता माननीय हरि भण्डारीज्यूले बोल्ने क्रममा जुन शब्द प्रयोग गर्नुभएको छ, हाम्रो प्रदेशसभा नियमावलीको नियम २० को ‘घ’ ले संसदमा सदस्यहरु बोल्दा केके नियम पालना गर्नुपर्छ भन्ने लेखिएको छ । नियम २२ सम्बद्धताको कुरा गरेको छ । जुन विषयमा छलफल चलेको छ त्यो भन्दा बाहिर गएर बोल्न मिल्दैन । यी दुवै नियम माननीयबाट उल्लंघन भएको छ । यसमा म नियमापत्ति जनाउन चाहन्छु ।’

नेपालीले भण्डारीलाई आपत्तिजनक शब्द बोलेको भन्दै त्यसलाई हटाउन माग गरे । ‘वास्तवमा प्रधानमन्त्रीको सालो भन्ने शब्द घोर आपत्तिजनक शब्द हो । म चुनौती दिन चाहन्छु, निर्वाचनमा, उपनिर्वाचनमा प्रचण्ड कमरेडको सामु नजिकै कुलमान घिसिङको पोस्टर टाँस्दै हिँड्नुभयो । उहाँहरुको सम्बन्ध के हो ? उहाँ माओवादी केन्द्रको नेता हो ?’ उनले प्रश्न गरे,‘वास्तवमा सालो भन्ने शब्द पुष्टि गर्न चुनौती दिँदै म यो सम्मानित शब्दमा त्यो आपत्तिजनक शब्द हटाइयोस भन्न चाहन्छु ।’ तर, नेपालीले नियमापत्ति गरेको १० मिनेटपछि फेरि हरि भण्डारीले स्पष्टिकरण माग गरे ।

‘नियमावलीको ३० मा स्पष्टीकरण माग गर्न दिन सकिने भनेको छ । जुन शब्द बोल्नेक्रममा सालो भन्ने शब्द बोलिएकै छैन, त्यसप्रति कसरी यो प्रश्न उठ्यो ध्यानाकर्षण गराउन चाहान्छु,’उनले भने । सभामुख धितालले पछि रेकर्ड हेर्ने र कार्यव्यवस्थामा छलफल गर्ने बताए ।प्रदेशसभा सचिवालयका अनुसार पछि रेकर्ड हेर्ने क्रममा भण्डारीले उक्त शब्द प्रयोग भएको नदेखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->