आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बोल्दै नबोलेको विषयमा एमालेको नियमापत्ती संसदको रेकर्डबाट हटाउन माओवादीको माग

बोल्दै नबोलेको विषयमा एमालेको नियमापत्ती संसदको रेकर्डबाट हटाउन माओवादीको माग


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०८१, बुधबार

पोखरा/ गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा सत्तापक्ष नेकपाल एमालेले गरेको नियमापत्ति संसद्को रेकर्डबाट हटाउन प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले माग गरेको छ। प्रदेशसभाको बुधवारको बैठक सुरु हुनसाथ माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा पुनले बोल्दै नबोलेको विषयमा नियमापत्ति गरिएको भन्दै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन सभामुखसमक्ष अनुरोध गरेकी हुन् ।

‘विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा हाम्रो दलका एकजना माननीयले बोल्दै नबोलेको शब्दप्रति नियमापत्ती गरेको विषयमा हाम्रो दलको गम्भिर ध्यानाकर्षण भएको छ’, पुनले भनिन, ‘सम्बन्धित विषयमा मन्त्रीले जवाफ दिएर अर्को विषयमा छलफल चलिरहेको अन्तिम घडीमा करीव १ घन्टापछि नियमापत्ती गर्न मिल्ने की नमिल्ने, दोस्रो बोल्दै नबोलेको विषयमा हाम्रो माननीयको नामै किटेर अराोपित गरेको विषय झनै गम्भिर छ । यसर्थ नियमापत्ती गर्ने माननियको भनाई रेकर्डबाट हटाउन सभामुखसमक्ष हार्दिक अनुरोध गर्दछौ ।’

मंगलबारको प्रदेशसभा बैठकमा माओवादी केन्द्रका सांसद हरिबहादुर भण्डारीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा कालो चस्मा लगाएर विरोध जनाउँदै आफन्तलाई बाहिर राखेर कुलमानलाई प्राधिकरणको कुर्सीमा बस्न नदिएको कुरा प्रधानमन्त्रीलाई मन नपरेको भनेका थिए । त्यसपछि एमाले प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले भण्डारीले ‘प्रधानमन्त्रीको सालो’ भन्ने शब्द उच्चारण गरिएको भन्दै नियमापत्ती जनाएका थिए । भण्डारीले सालो भन्ने शब्द भने प्रयोग गरेका थिएनन् । एमालेको नियमापत्तिपछि संसद् सचिवालयले मंगलबार नै सांसद भण्डारीको सम्बोधनको रेकर्ड सुनेको थियो। तर, रेकर्डमा एमालेले नियमापत्ति गरेको शब्द नै फेला नपरेको सभामुख कृष्णप्रसाद धितालले बताए ।

सभामुख धितालले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भइसकेकाले नियमापत्तिको विषय अब नउठाउन आग्रह गरे। आवश्यक परेमा कार्यव्यवस्थामै छलफल गर्ने सभामुखको आग्रहपछि प्रदेशसभा बैठक अघि बढेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->