पोखरा/ नेकपा एमालेका सांसद लिलबहादुर थापामगर ले सरकारी कार्यालयहरुमा सेवाग्राहीलाई १ घन्टा भन्दाबढी समय नकुराई काम हुनुपर्ने माग गरेका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकमा शुन्य समयमा सांसद थापामगरले लोकतन्त्र आएको बिसौं वर्ष भए पनि सरकारी कामकाजमा ढिलो हुने गरेको जनाए ।
‘लोकतन्त्र आएको बिसौं वर्ष भइसक्यो । अझै पनि अदालतमा फैसला हुने कुरा होस् या कुनै पनि सरकारी कार्यालयमा का मगर्न २ ३ दिन लाग्ने गरेको छ’, उनले भने, ‘छिटोछरितो काम नभएर सुशासन नहुने कुराले हामीलाई नतमस्तक बनाएको छ । अवदेखि एक घन्टा भन्दा बढी नकुराउने गरी काम हुनुपर्छ ।’ उनले यस विषयमा सरकारको ध्यानाकर्षण भएर सम्बन्धित कार्यालयहरुमा निर्देशन पनि जाओस् भन्ने अनुरोध गरे ।

शुन्य समयमा माओवादी केन्द्रकी दमयन्ती रुचालले विभिन्न मन्त्रालयले सार्वजनिक गर्ने सूचनाबाट प्राय सबै माननीय बन्चित हुनुपरेको गुनासो गरिन् । सामाजिक बिकास मन्त्रालयले हरित पार्क निर्माणको लागि सूचना जारी गरेको र त्यसको आज अन्तिम दिन रहेको भन्दै उनले उपभोक्ता समितिका व्यक्तिबाट यो कुरा ३ दिन अघिमात्र थाहा पाएको उनले बताइन् । ‘सबै मन्त्रालयको सूचना यसैगरी पाइदैन । संविधानले सबै नागरिकलाई सूचनाको हक प्रदान गरेको अवस्थामा माननीय नै बन्चित हुनुपरेको छ’, उनले भनिन्, ‘ मन्त्रालयको निर्णय, कार्यक्रम र सूचना सबै सांसदले सहजरुपमा पाउने व्यवस्था मिलाउन माग गर्छु ।’ उनले हरित पार्कसम्बन्धी सूचनाको म्याद बढाउनु पर्ने माग पनि गरिन् ।

एमालेकी निर्मला थापाले प्रदेशको ग्रामीण क्षेत्रमा बाँदर र जंगली जनावरको अतिक्रमणले खेतीयोग्य जमीन बाँझो हुँदै गएको र उक्त जग्गामा औषधीजन्य र उद्योगजन्य कच्चा पदार्थको उत्पादन गर्नुपर्ने बताइन् । साथै उक्त बाँझो जमीनमा गाँजा खेतीसम्बनधी बिधेयक निर्माण गर्न सरकारसंग अनुरोध गरिन् ।
बैठकमा कृषी, भूमी व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले यसअघिका बैठकमा सांसदहरुले विशेष, आकस्मिक र शुन्य समयका उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिएकी थिइन् ।





