आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कास्की कांग्रेसका सभापति बरालमाथि कारवाहीको माग गर्दै नेविसंघका केन्द्रीय सदस्यहरुको उजुरी

कास्की कांग्रेसका सभापति बरालमाथि कारवाहीको माग गर्दै नेविसंघका केन्द्रीय सदस्यहरुको उजुरी


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८१, बिहिबार

पोखरा/ हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालमाथि कारबाहीको माग गर्दै नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टीमा उजुरी दिएका छन् । कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले बराललाई कारबाहीको माग गरेका हुन् ।

उनीहरुले पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानालाई पत्र पठाएका हुन् । विशेषगरी पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरको निर्वाचनमा सभापतिकै कारण पराजय भोग्नु परेको र त्यसको कारक पार्टी सभापति बराल रहेको केन्द्रीय प्रतिनिधि राजेन्द्र बरालले बताए । लामाचौर क्याम्पसमा नेविसंघले सचिवमा उम्मेदवारी दिएपनि नेविसंघकै केन्द्रीय सदस्य रेजिना खड्का मार्फत मनोनयनपत्र च्यात्न लगाएको आरोप उनीहरुको छ । सचिवमा नेविसंघको केन्द्रीय नेतृत्वले प्रशान्त उपाध्यायलाई तोकेको थियो । उपाध्यायको नाम अन्तिम उम्मेदवारको सूचीमा प्रकाशन भएन । उम्मेदवारको नाम प्रकाशनको मागसहित नेविसंघ तालाबन्दी सहित आन्दोलित भएको थियो । पछि सभापतिका उम्मेदवार सौगात पण्डितकै नेतृत्वमा ताला फुटाइएको थियो ।

यी सबै गतिविधि सभापति बरालको निर्देशनमा भएको आरोप अर्का केन्द्रीय सदस्य नसिब गुरुङले बताए । उनले तर एमाले र माओवादीसँग मिलेर सभापति बरालले नेविसंघको अस्तित्व र संगठनलाई लिलाम बनाएको जनाए । बरालले स्ववियु निर्वाचनका लागि चन्दा उठाएर रकम अपचलन गरेको आरोप पनि उनीहरुले लगाएका छन् ।  अर्का केन्द्रीय सदस्य अन्जान थापाले स्ववियु निर्वाचनको लागि उद्योगी व्यवसायी, शुभचिन्तक लगायत सबैबाट चन्दा सङ्कलन गर्ने तर निर्वाचनमा अभिभावकीय भूमिका निर्वाह नगरी आर्थिक अपचलन गर्दै नेविसंघको विरुद्ध मत मागेको आरोप लगाए । उनीहरुले अनुशासन समिति कास्की, गण्डकी कार्यसमिति र केन्द्रीय कार्यसमितिलाई बोधार्थ दिएका छन् ।

बराललाई ७ दिनभित्र साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न नेविसंघ केन्द्रीय सदस्यहरुको माग छ । ७ दिनभित्र कारबाही नभए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने उनीहरुको भनाई छ । स्ववियु निर्वाचन भएका पोखराका ४ वटै क्याम्पसमा नेविसंघ पराजित भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->