बागलुङ/भूमि समस्या समाधान आयोगका काम कारवाहीबारे सरोकारवाला, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हालै गठन भएको आयोगको बागलुङ समितिले हालसम्म भएका काम र आगामी दिनमा गर्ने गतिविधिबारे जानकारी दिंदै भूमीहिन दलीत, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि सुझाव समेत माग गरेको हो ।
आयोगले संविधानले व्यवस्था गरेअनुसार हरेक नागरिकको आवासको सुविधा हुनेछ भन्ने मान्यतालाई स्थापित गर्न तथ्यांक संकलन गरेर आवस्यक पर्नेलाई जग्गाको व्यवस्थापन गर्ने काम अगाडी बढाएको हो । त्यसका लागि पालिका तहका तथ्यांक र उनीहरुको व्यवस्थापनको लागि चाहिने जग्गाको सहजीकरण गर्न अन्तरक्रियाले पहल हुने आयोगका अध्यक्ष सुनिल शेरचनले बताए ।
भूमीहिन,, दलीत र अव्यवस्थित बसोबासी र सुकुम्बासीका लागि तथा हरुवाचरुवा समेतलाई आवास दिलाउन तथ्यांक संकलन भैरहेको नापी अधिकृत तथा आयोगका सदस्य सचिव मौषम सुनामले जानकारी दिए । उनले हाल सम्मको कार्यक्रम र प्रगतीबारे प्रस्तुती गर्दै सबै पालिकामा तथ्यांक संकलन भएको, आवस्यक जग्गाको खोजी भएकोले अबका दिनमा छिटै बसोबासको व्यवस्थापन पनि गर्न सकिने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले भूमिहिनलाई पनि समान नागरिक बन्ने अवसर मिल्ने बताए । यो अभियानका लागि आयोगको काम महत्वपूर्ण भएको बताए । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सबै पालिकाका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले हालसम्म भएका कामबारे जानकारी दिएका थिए ।
कार्यक्रम जिल्ला समन्वय समितिका नासु दुर्गाप्रसाद शर्माको संचालन, आयोगका विज्ञ सदस्य उमेश गौतमको स्वागतमा सम्पन्न भएको थियो । उक्त अवसरमा सदस्य लक्ष्मी बोहोराले आयोगको योजनाबारे प्रकाश पारेकी थिइन् ।





