पोखरा/ यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ ।
आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार महायज्ञको आयव्यव विवरण सार्वजनिक गरेको हो । जसअनुसार यज्ञमा ३ करोड १ लाख ९२ हजार, ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई २ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत हुन आएको महायज्ञका सहमहासचिव भेकबहादुर थापाले जनाए । यसमध्ये ५५ लाख अक्षयकोषवापत प्राप्त हुन आएको पनि उनले स्पष्ट पारे ।
महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सबैको साथ सहयोगले यज्ञ सफल भएको जनाउँदै अझै पनि सहयोग आउनेक्रम जारी रहेको बताए । उनले दानको महत्वमाथि प्रकाश पार्दै आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको क्रियाशिलताको पं्रसंशा गरे । समितिका अध्यक्ष प्रेमबहादुर जिसीले यज्ञमा खट्नुे सबैप्रति आभार प्रकट गर्दै २० वर्षसम्मको निरन्तर साधानाका कारण सराङकोटमा हालसम्मका संरचना निर्माण गर्न सफल भएको बताए । सराङकोटको स्तरबृद्धिमा सहयोग गर्ने पोखरा महानगर, गण्डकी प्रदेश सरकार, पोखरा क्षेत्रका स्थानीयवासी लगायत सबै भक्तजनप्रति धन्यवाद समेत उनले दिए । वडा सदस्य समेत रहेकी महायज्ञ मूल आयोजक समितिकी सहअध्यक्ष कल्पना ढकाल क्षत्रीले सराङकोट पोखरा क्षेत्रकै प्रसिद्ध धाम रहेको उल्लेख गर्दै उक्त धामलाई अझै व्यवस्थित गर्दै लैजानुपर्ने बताइन् ।
विहीबारबो कार्यक्रममा महायज्ञमा सहयोग पुराउने आमा समूह, युवा क्लव, भजन समूह, वाजा समूह लगायत विभिन्न संघ संस्था एवम् व्यक्तिलाई सम्मान गरिएको थियो । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महायज्ञका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरेका थिए । सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको हो । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । सराङकोट धामको राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहका बीच उद्घाटन गरेका थिए ।





