पोखरा/ कार्कीनेटा सम्पर्क समाज पोखराको अध्यक्षमा हरिप्रसाद शर्मा चयन भएका छन् । समाजको शनिवार सम्पन्न सातौं साधारण सभा तथा पाँचौ अधिवेशनले शर्माको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद शर्मा, उपाध्यक्ष धनप्रसाद पाध्या, सचिव शेषकान्त शर्मा, कोषाध्यक्ष कमला श्रेष्ठ, सहसचिवमा शालिकराम पौडेल र करिश्मा बराल शर्मा सहकोषाध्यक्ष नारायणप्रसाद पौडेल चयन भए । यसैगरी सदस्यहरुमा तुलसी शर्मा, प्रकाश शर्मा, राजुप्रसाद शर्मा, देवी पौडेल, मन्जु केसी पौडेल, हरिप्रसाद शर्मा र बिजय पौडेल चुनिए । एक सदस्य भने कार्यसमितिले मनोनित गर्नेछ । समाज पर्वत जिल्लाको फलेबास नगरपालिका वडा नम्बर १ कार्कीनेटाबाट पोखरा आएर बसेकाहरुको संस्था हो ।

अधिवेशनको उद्घाटन गर्दै फलेबास नगरपालिकाका संस्थापक मेयर पदमपाणी शर्माले मातृभूमीको मायाले समाज बनाएको र गाउँको बिकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले समय र परिस्थितिले एकै ठाउँमा बस्न नसक्ने अवस्था रहेको र समाज बनाएर यसरी एकजुट हुनु राम्रो रहेको बताए । ‘समाजलाई सबै कार्कीनेटाबासीको साझा चौतारी हो भन्ने बनाउनु पर्छ’, शर्माले भने, ‘विभिन्न घटना तथा गतिविधिमा गाउँसंग जोडिनु पर्छ ।’ उनले छिमेकी समाजहरु जुटेर एउटा समन्वय समाज बनाएर अघि बढे रचनात्मक काम गर्नमा बल पुग्ने बताए ।
विशिष्ट अतिथि फलेबास–१ का वडाध्यक्ष चोलाकान्त पाध्याले गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गरे । उद्घाटन सत्रमा वडा सदस्य विष्णुप्रसाद पाध्या, समाजका निवर्तमान अध्यक्ष सीता शर्मा, सल्लाहकार गोविन्द शर्मा, सम्मानित व्यक्तित्व डा.विष्णुप्रसाद शर्मा, आजीवन सदस्य झलक शर्माले शुभकामना मन्तव्य दिएका थिए । यसैगरी खौलालाँकुरी पोखरा सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष लालप्रसाद शर्मा, पर्वत भँगरा पोखरा सम्पर्क समाजका अध्यक्ष देव क्षेत्री, थापाठाना पोखरा सम्पर्क समाजका अध्यक्ष श्यामबहादुर थापा, पर्वत ठूलीपोखरी पोखरा सम्पर्क समाजका उपाध्यक्ष शिव लामिछानेले पनि शुभकामना दिएका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिकद्वय तुलसा पाध्या र माधव शर्मा, विभिन्न विषयमा पिएचडी हासिल गरेका विष्णुप्रसाद शर्मा र गणेश शर्मा, समाजसेवी तथा पूर्व जनप्रतिनिधि बाबुराम शर्मा र लामो समयदेखि (२०३७ देखि २०५५) स्वास्थ्य क्षेत्रमा सहयोग पुराएका धनप्रसाद गुरुङलाई सम्मान गरिएको थियो । अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष हरिप्रसाद शर्मा र संचालन सचिव धनप्रसाद पाध्याले गरेका थिए ।





