आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पत्रकार महासंघ गण्डकी र कास्कीले बुझाए नेपाल सरकारलाई ध्यानाकर्षण पत्र

पत्रकार महासंघ गण्डकी र कास्कीले बुझाए नेपाल सरकारलाई ध्यानाकर्षण पत्र

गण्डकीले मुख्यमन्त्री र कास्कीले प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन्


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८१, सोमबार

पोखरा/ पत्रकारको हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित छ ।

महासंघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र कास्की शाखाले नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कास्की शाखा अध्यक्ष माधव बरालले प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे मार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले आन्दोलनका क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य पत्ता लगाएर राज्यको तर्फबाट गर्नुपर्ने सहयोग तथा दोषीलाई कानूनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले निरंकुश राजतन्त्रको बेला जनतामा सचेतना जगाउन नेपालको मिडिया क्षेत्रले विगतमा जुन भूमिका खेलेको थियो, त्यो अझै पनि खेल्नेछ भन्ने विश्वास गर्दै मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको पक्षमा सबैजना यसैगरी लाग्नुपर्ने बताए । उनले एकदुई वटा घटनाबाट विचलित नहुन पनि मिडिया क्षेत्रलाई आश्वस्त पारे ।
ध्यानाकर्षणपत्र वाचन गर्दै महासंघ गण्डकी अध्यक्ष पौडेलले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ भने ।

साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि मुख्यमन्त्रीमार्फत नेपाल सरकारसमक्ष माग गर्दछ भने । एक साताभित्रै माग सम्बोधन हुने विश्वसनीय आधार नभए महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइएको छ । मुख्यमन्त्री निवास सहिदचोकमा पत्र बुझाउने क्रममा नागरिक समाज तथा अधिकारकर्मीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

यसैगरी प्रमुख जिल्ला अधिकारी पाण्डेले ध्यानाकर्षण पत्र बुझ्दै घटनाप्रति दुख व्यक्त गरे । साथै पत्रकारहरुको सुरक्षाका लागि कास्की प्रशासन सचेत रहेको उनको भनाई थियो ।

शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरिएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->