बागलुङ/राजावादीहरुको हिंसात्मक आन्दोलनका क्रममा पत्रकारले ज्यान गुमाएको घटनामा गहिरो अनुसन्धान गरी हत्यामा संलग्नहरुलाई फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ बागलुङ शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानामन्त्रीको ध्यानाकर्षण गराएको छ ।
पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै प्रजिअ गुरुङले पत्रकारहरुको मागलाई तत्काल सम्बन्धित निकायमा पठाउने प्रतिवद्वता व्यक्त गर्दै पत्रकारहरुको सुरक्षाका लागि प्रशासन सचेत रहेको बताए ।
हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा पत्रकारको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग गर्दै पत्रकार महासंघले चरणवद्व रुपमा आन्दोलित छ ।
विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि महासंघले प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । एक साताभित्रै माग सम्बोधन हुने विश्वसनीय आधार नभए महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्टको भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको, कान्तिपुर टिभीको भवनमा ढुंगामुढा गरिएको, हिमालयन टिभीको सवारीसाधनमा तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।





