बागलुङ/बागलुङ नगरपालिकाले सोमबारदेखि ६ महिने निशुल्क मनोसामाजिक मनोपरामर्श तालिम शुरु गरेको छ । तालिमको शुभारम्भ गर्दै नगर उपप्रमुख राजु खड्काले समाजमा मानसिक रोगीहरुको संख्या बढ्दै गैरहेको कारण मनोसामाजिक समस्याहरुले ठूलो प्रभाव पारिरहेकाले त्यसको समाधानमा सहजिकरणका लागि नगरपालिकाको आयोजनामा तालिम संचालन गरेको प्रष्टाए ।
समाजको अध्ययनसंगै सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माणमा मनोविमर्शकर्ताबाट महत्वपूर्ण सुझाव प्राप्त हुने विश्वाससहित दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजनामा तालिम सहयोगी हुने उपप्रमुख खड्काले बताए । समुदायमा सकारात्मक चिन्तन, सोचका साथ तनाव व्यवस्थापन गरी शान्ति सु–व्यवस्था स्थापनामा सहभागिहरु निरन्तर क्रियाशिल रहने समेत उप–प्रमुख खड्काले विश्वास व्यक्त गरे ।
नगरपालिका भित्रका १५ जना सहभागि तालिममा हुमन नेपालका मनोविद उमेश शिवाकोटी र प्रशिक्षक मोनिका खड्काले सहजिकरण गर्ने छन् ।





