पोखरा/नेपाली खेलकुदमा हर सफल खेलाडीको कुरा सुन्ने हो भने संघर्ष नगरेका विरलै होलान् । हरेक खेलाडीको आ–आफ्नै कथा छन् । उनीहरुको कथा सुन्ने हो भने हर कोहिलाई रुवाउँछ नै । यस्तै खेलाडीमध्येकी एक हुन्– नेपाली फुटबल जगतमा सफलता हात पारेकी महिला राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा । नेपालमा पहिलो पटक बायोपिक फिल्म ‘अञ्जिला’ निर्माण भएको छ । अहिले देशभर शो चलिरहेको छ ।
एन्जिलाको चाहना, सपना, दृढ संकल्प, संघर्ष र उचाइको गाथालाई बुनेर चलचित्र बनेको छ । सोमबार पोखराको मिडटाउनमा चललित्र अन्जिलाई हेर्दा दर्शकहरु रुँदै थिए । फिल्म सकिएपछि चलचित्र निर्माण टोली त्यहाँ पुगे । जब एन्जिला हलभित्र प्रवेश गरिन्, तब दर्शकहरु भावुक हुँदै झन रुन थाले । एन्जिलाले उनीहरुलाई थम्थमाउँदै नरुनू भन्दै आफू पनि भावुक हुँदै भनिन्, ‘बहिनी रुँदा एकदम नरमाइलो लागेको छ । पोखरामा आएर खुसी बाँड्ने मौका पाएँ । आगामी दिनमा पनि यसरी नै माया देखाउनुहोला । मलाई थप उर्जा मिलेको छ र अझै केही गर्नुपर्छ भनेर उर्जा आएको छ । यो मेरोमात्र होइन हरेक खेलाडीको कथा हो ।’
एन्जिलालाई देखेपछि भावुक हुनेमध्येकी एक हुन्– आरति तिलिजा । उनले यो चलचित्र दुईपटक हेरिन् र दुईपटक नै धुरुधुरु रोइन् । सोमबार उनी एन्जिलाकै लागि हलमा पुगेकी थिइन् । म्याग्दीकी आरति प्रतिनिधिपात्र मात्रै हुन्,उनीजस्तै भावुक हुने र रुनेको हलमा कमी थिएन । फिल्म हेर्दा उनलाई एन्जिलाले परीक्षा दिनका लागि बुट जलाएको र अन्तिममा बुबासँग भेट भएको कुराले रुवाउँछ । ‘मलाई दिदीले (एन्जिला) जतिबेला बुट जलाउनुभएको थियो । अनि बाबासँग लास्टमा भेट्दा निकै रोएँ । म आज दिदी आउनुहुन्छ भनेर आएको हुँ । दिदी आउनुहुन्छ भनेर फिल्ममाभन्दा बढी ध्यान बाटोतिर थियो मेरो । दिदी एक्कासी आउँदा आसु आयो । रोक्न सकिन एकदम खुसी लाग्यो । अझै भेट्न मन लागेको छ… (उनी पुनः आखाँभरि आँसु निकाल्दै भक्कानिन्छिन्) ।’
पूर्वी पहाडी जिल्ला इलामकी बालिका जो बाल्यकालमा मोजाको बल बनाएर फुटबलको सुरुवात गर्दै एन्जिलाले भोग्नुपरेका दुख र संघर्षसंग जुधेर राष्ट्रिय टिमको कप्तानसम्मको यात्रालाई चलचित्रमा देखाइएको छ । चलचित्रको मुख्य पात्र कुनै कलाकार होइन, कप्तान एन्जिला आफैं हुन् । चलचित्रमा उनलाई साथ दिनेमा दयाहाङ राई, सिर्जना सुब्बा तथा माओत्से गुरुङहरू छन् तर, उनीहरुको अभिनय भन्दा एन्जिला अभिनयमा कुनै कमजोरी छैन । त्यसो त आफैंले भोगेको जीवन हुबहु उतार्न एन्जिलालाई सकस पनि हुने कुरा भएन ।
निर्देशक मिलन चाम्सले सिनेमा हेराएर रुवाउने मन पटक्कै नभएको सुनाउँछन् । दर्शक भावुक भएको देखेपछि उनले भने, ‘हामीलाई चलचित्र देखाएर तपाईहरुलाई रुवाउने मन पटक्कै होइन । यो त वास्तविक कथा हो । तपाईहरुलाई प्रेरणाको स्रोत हुन्छ भनेर मात्रै बनाएका हौं ।’ चलचित्र अन्जिलाको टोली प्रर्दशीनको क्रममा दर्शकमाझ पुग्नकै लागि पोखरा आएको हो । कलाकारहरुले देशका विभिन्न हलहरुमा यसरी नै दर्शकको प्रतिक्रिया बुझ्न पुग्नेछन् ।
एन्जिला केही दिनका लागि मात्र स्वदेश फर्किएकी हुन् । फिल्म देशभर दोस्रो सातामा चलिरहँदा प्रमोसनका लागि शुक्रवार नेपाल आएकी हुन् । उनी अर्को साता नै ग्रीस फर्कने छन् । उनी ग्रीसमा व्यावसायिक फुटबल खेल्दै आएकी छन् । गत महिना फोर नेसन्स उमन्स च्याम्पियनसिपको लागि एन्जिला नेपाल आएकी थिइन् । त्यतिबेला प्रोमो सार्वजनिक गर्ने कार्यक्रममा सहभागी भएर उनी ग्रीस फर्केकी थिइन् ।





