सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अर्नाकोटमा पानीको सास्ती

अर्नाकोटमा पानीको सास्ती


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०८१, बुधबार

बागलुङ/निसीखोला गाउँपालिका २ की ८१ वर्षिय नर्मती रसाइलीको एउटै धोको छ, मर्ने बेलामा घरमा पानी आइदिए हुन्थ्यो । बुढ्यौलीले गलाइसकेकोले उनी खोलाखोल्सी पुगेर पानी खेप्न सक्दिनन् । उमेरमा त उनले पानीको दुःखलाई नियमित काम जस्तै मानेकी थिइन् । अब भने उनको उमेर बाधक भयो । त्यसैले भन्छिन्, ‘मर्ने बेलामा घरछेवैको धारोबाट पानी खान पाए हुन्थ्यो ।’

निसीखोला २ अर्नाकोटमा अहिले खानेपानीको चरम समस्या छ । यहाँका बासिन्दाले पानी खानका लागि धेरै सास्ती खेपेका छन् । ढोरपाटन नगरपालिका ५ को बसुन्धारा पुग्ने वा निसीखोलाकै तल्लो व्याङग्री पुग्ने दुइवटा बाटो मात्रै छ । जता गएपनि एकगाग्री पानीका लागि दैनिक डेढदुइ घण्टा बिताउनुपर्छ । बोकेर ल्याउने सास्ती त छँदैछ । नर्मतीका लागि यो सबैभन्दा गाह्रो विषय हो । यो उमेरमा पनि पानी खेप्न सास्ती खेपेको उनको गुनाासो छ । छोराबुहारी सहर र विदेश छन् । एक्लै बसेकी नर्मतीले पानी खान नपाएर मरिने हो की भन्ने लागेको बताइन् ।

अर्नाकोटकै कक्षा १० की पूर्णकला विकले पनि पढ्ने समय पानी खेप्नमा बिताउने गरेकी छिन् । बिहान उठेर भुकभुकेको पानी खेप्दा तीन घण्टा बित्ने गरेको उनले गुनासो गरिन् । खाना खाएर १० बजेको विद्यालय भेटाउन उनलाई कठिन पर्छ । उनको घरछेउका धारामा पानी खस्दैन । यो सास्ती वृद्दा नर्मती र विद्यार्थी पूर्णकलाको मात्र हैन । अर्नाकोट, देवलधारा आसपासका सयौंको दैनिकी यस्तै हो ।

अर्नाकोट माविमा पढ्न आउने ४० बढी विद्यार्थी त अहिले पनि पानी खेप्न गएकोले ढीला आउने गरेको प्रधानाध्यापक देवबहादुर कुँवरले बताए । घरदेखि एक घण्टा तल खोल्सामा पुगेर पानी खेप्नु पर्छ । ‘बिहान दुइ खेप पानी नल्याए दिनभरलाई खाने केही हुँदैन’ विकले भनिन्, ‘जंगलको बाटो विद्यालय हिंडेर जान उत्तिकै टाढा छ ।’ विद्यालयमा पानी नभएपछि दिउँसो खाने आफैले लैजानु परेको उनले गुनासो गरिन् ।

वडा नं. २ कै धम्पु गाउँमा पनि खानेपानीको सास्ती छ । यहाँका ८० जना बालबालिका अर्नाकोट माविमा पढ्न आउने गरेका छन् । उनीहरुले पनि पानी खेप्दा बिहानको पहिलो कक्षा छुटाउन बाध्य छन् । ढोरपाटन नगरपालिका वडा नं. ५ को बसुन्धरा भन्ने धारामा पुगेर पानी खेप्दा बिहान बित्ने गरेको अर्का विद्यार्थी रञ्जिता सुनारले गुनासो गरिन् । ‘नजिकमा पानी छैन, खानेपानी घरमा खेपेर ल्याउनु पर्छ, गाईभैसीलाई खुवाउनु परे खोलामै पु¥याउनु पर्छ’ उनले भनिन्, ‘नजिकमा पानी नभएपछि सरसफाइ पनि गर्न पाईदैन ।’

यो विद्यालयका बिनिता विक र सन्तोष विकले पनि उस्तै दुःखका कुरा गरे । विद्यालयको पोशाक धुन समेत नपाएर मैलो लगाउन बाध्य भएको उनीहरुको गुनासो छ । ‘पानी नभएपछि धुलोमैले भएको कपडा लगाएर जान बाध्य छौं’ सन्तोषले भने, ‘सफा भएर बस्ने चाहना भएपनि गाउँमा सबैको हालत उस्तै भएको छ ।’ माघदेखि असार सम्मको ५ महिना स्थानीयले बढी सास्ती खेप्नुपर्छ ।

अर्नाकोट मावि रहेकै बस्तीमा पनि पानीको सास्ती छ । दशकअघि लिफ्ट प्रविधिबाट ल्याएको एउटा योजना जीर्ण भएको छ । ४५ वर्ष अघिको पुरानो योजनामा पानी सुकेर गयो । लिफ्टको मोटर बिग्रेर मर्मत गर्दा गर्दा हैरान भएको स्थानीय हिराबहादुर बिकले बताए । ‘२०४७ सालमा ल्याएको पानी सबै सुके, अहिले पानी नभएकै कारण धेरै मानिस बसाइ सरेर हिंडे’ उनले भने, ‘दिगो मुलको व्यवस्थापन गर्न नसक्दा सहयोग गर्न आएका दाता पनि फर्केका छन् ।’ अर्नाकोटदेखि झण्डै २७ किमी परको पातीहाल्ने वा ढोरपाटनको देउरालीबाट पानी ल्याए मात्र दिगो हुने स्थानीय दिपक कुमार विकले बताए ।

खानेपानीको समस्या लिएर स्थानीयले वडा अध्यक्षदेखि गाउँपालिकाका पदाधिकारी, जिल्ला समन्वय समिति र गैरसरकारी संस्थामा पनि धाएको बिकले बताए । ‘वडा अध्यक्षसहित हामीले जंगलको बाटो चार दिनसम्म घुमेर मुल भेटायौं, तर ती मुलबाट पानी ल्याउन करोडौंं खर्च लाग्छ’ बिकले भने, ‘गाउँपालिका अध्यक्षले पहल गरिदिने हो भने पानी ल्याउन सकिन्छ ।’ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीको घर रहेको निसीखोला वडा नं. ६ को पातीहाल्ने नजिकैको जेठीमाइली पहाडबाट पानी ल्याउन सकिने भएपनि ठूलो योजना चाहिएको उनले बताए ।

अर्नाकोट क्षेत्रमा ४ सय घर धुरी छन् । सबै घरमा पानीकै अभाव छ । झण्डै ९५ प्रतिशत दलीत समुदायको विक र सुनारको बसोबास छ । एकादुइ घर बाहुनक्षेत्री र जनजाती छन् । यहाँ विद्यालय र सामुदायिक स्वास्थ्य इकाइ स्थापना छ । ग्रामीण सडकको ट्रयाक खुलेको छ । त्यसैले स्थानीयले अरु योजना नभएपनि खानेपानी चाहिएको माग गरेका छन् । ८१ वर्षिय वृद्दाले घरबारी बेचेर हिंड्न खोज्ना पनि नसकेको गुनासो गरिन् । ‘बसाई सरौं पैसा छैन, घरबारी बिक्दैन’ उनले भनिन्, ‘पैसा नभएका र दलीत मात्रै गाउँमा बाँकी बसेका छौं ।’ पानी ल्याइदिन्छौं भन्नेहरु चुनावमा मात्रै आएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->