बागलुङ/जिल्लाको ऐतिहाँसिक चैत्राष्टमी बागलुङ कालिका भगवती मन्दिरपरिसरमा बुधबारदेखि सुरु भएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि चैतेदसैँको अवसरमा बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले मेलाको आयोजना गरेको हो ।
यस वर्ष गुठी संस्थानसँगको सहकार्यमा मेलासँगै धार्मिक सम्मेलन समेत सुरु भएको छ । यस वर्षको चैत्राष्टमी मेला बुधबारदेखि २५ गतेसम्म चल्ने छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन प्रदेशको आर्थिक बिकासको प्रमुख स्रोत भएको बताए । धार्मिक पर्यटकीय क्षेत्रहरुको बिकास र प्रबद्र्धनका लागि तीनै तहका सरकारले कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।
यहाँका धार्मिक पर्यटकीय क्षेत्र घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई केही समय अडिने वातावरण बनाउँदा त्यसले प्रदेश र स्थानीय तहको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । प्रदेश सरकारले धार्मिक पर्यटकीय क्षेत्रको देश बिदेशमा प्रबद्र्धनको काम थालेको भएपनि स्रोत अभावका कारण सोचेजस्तो उपलव्धी हाँसिल हुन नसकेको उनले बताए ।
देश बहुभासिक, बहुसांकृतिक र बहुधार्मिक राष्ट्र भएको भन्दै पाण्डेले धर्म र संकृतिका माध्यामबाट देशको भुगोल र प्रकृतिको समेत प्रचार गर्न सकिने बताए । आर्थिक बिकासको नविनतम उद्यम क्षेत्र पर्यटन भएको भन्दै उनले पर्यटन र पर्यटकको रुचीसँग जोडिएका क्षेत्रको बिकास र प्रबद्र्धनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
चैतेदसैँका अवसमा कालिका भगवती मन्दिर दर्शनका लागि लाखौँ दर्शनार्थी आउने गरेका बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
पर्यटन प्रवद्र्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आएको गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले जानकारी दिए । पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरूमा व्यापारिक मेलाहरू आयोजना हुने गरेको भए पनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्त्व र इतिहास रहेको पाका पुरानाहरू बताउँछन् ।
चैतेदसैँ मेलामा घरायसी प्रायोजनका सामग्रीहरू डाला, नाङ्ला, ठेका, हातहतियारलगायतका वस्तुहरूको परापूर्वकालदेखि नै किनमेल हुने गरेको छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा टाढा–टाढाका जिल्ला र भारतबाट समेत भक्तजनहरूको आगमन हुने गरेको छ ।
मेलामा पालिकास्तरीय पुरुष भलिबलको विजेतालाई नगद दुई लाख ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद एक लाख ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनल पुग्ने समूहलाई नगद २५ हजारसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसैगरी, खुला महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता र दोहोरी गीत प्रतियोगितासमेत आयोजना गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका उपाध्यक्ष निशान खडकाले जानकारी दिए । मेलामा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।





