तस्बिर : रासस
पोखरा/जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा बुधबारदेखि कास्कीमा लागुऔषध नियन्त्रण महाअभियान २०८१÷०८२ सुरु गरिएको छ ।
कास्की जिल्लामा लागुऔषध दुव्र्यसन, कारोबार ,वितरण र ओसार पसारलाई नियन्त्रण गर्न र समाजमा लागुऔषधविरुद्ध सचेतना बढाउने उद्देश्यले महाअभियान सुरु गरिएको हो । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभियान सुरु गरे ।
पोखरा ९ पृथ्वीचोकबाट बाजागाजा, प्लेकार्डसहित सुरु गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्ना बाबुनानीले के गर्दै छन्? कस्तो संगत गर्दै छन् ? भन्ने कुराको हेक्का राख्न अभिभावकसँग आग्रह गरे । उनले बालबालिकालाई माया। ममता, स्नेह तथा अपनत्व हुने गरी परिवारमै घुलमिल गराउन पनि सुझाव दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, भरतमणि पाण्डेलगायतले लागुऔषध दुव्र्यसन र यसको निराकरणबारे आ–आफ्ना धारणा राखेका थिए ।
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले कास्की जिल्लामा लागुऔषधको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै महाअभियानमा विभिन्न शीर्षकका ४७ वटा गतिविधि समेटिएका र यसलाई ६ महिने महाअभियानको रुपमा लैजाने बताए ।





