सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सामाजिक सद्भाव खल्बलाउने प्रयत्न सफल हुँदैनन् : मुख्यमन्त्री पाण्डे

सामाजिक सद्भाव खल्बलाउने प्रयत्न सफल हुँदैनन् : मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०८१, बुधबार

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक, जातीय, भाषिक, क्षेत्रीय भावनालाई भड्काएर सदियौंदेखिको सामाजिक सद्भावलाई खल्बलाउने प्रयत्न असफल हुने बताएका छन् । यस्ता अराजक गतिविधिप्रति सबैले गम्भीर भएर सोच्नुपर्छ बेला आएको पाण्डेको भनाइ थियो ।

पछिल्लो समय मरिसकेको राजतन्त्र फर्काउने नाममा केही अराजक तत्वहरुले देशमा अवाञ्छित गतिविधिहरु बढाइरहेको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले भने,‘धार्मिक उन्मादको नाममा केही अराजक तत्वहरुले समाजलाई भड्काएर आफ्नो स्वार्थ सिद्व गर्ने प्रयत्न निरर्थक छ ।’ सदियौदेखि एकताको सूत्रमा बाँधिएको समाजलाई धर्म र जातिको नाममा भड्काएर सत्ता प्राप्त गर्न खोज्ने तत्वहरुले शिर उठाउने प्रयत्न गरेपनि त्यो केवल दिवा सपना हुने मुख्यमन्त्री पाण्डेले जिकिर गरे ।

नेपाली जनताले लामो संघर्ष, पसिना र रगत बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्न र मुलुकको सामाजिक सद्भाव कायम राख्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न पाण्डेले आग्रह गरेका छन् ।

धर्म र जातिको नाममा विभाजित हुँदा कतिपय मुलुकहरुको अवस्था दयनीय हुनुका साथै असफल भएको मुख्यमन्त्री पाण्डेले उदाहरण दिए । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले चैतेदशैंको अवसरमा गुठी संस्थानको सहयोगमा आयोजना गरेको धार्मिक पर्यटन तथा गुठी महोत्सवको बुधबार उद्घाटन गर्दै पाण्डेले भने, ‘आवेग र भावनामा नबगी देशमा सामाजिक सद्भाव कायम राख्न सबै एकतावद्व हुनुपर्छ ।’

पाण्डेले धार्मिक पर्यटन प्रदेशको आर्थिक विकासको प्रमुख स्रोत भएको चर्चा गर्दै धार्मिक पर्यटकीय क्षेत्रहरुको विकास र प्रबद्र्धनका लागि तीनै तहका सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । धार्मिक पर्यटकीय क्षेत्र घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई केही समय अडिने वातावरण बनाउँदा प्रदेश र स्थानीय तहको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पाण्डेले बताए । देश बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक राष्ट्र भएको भन्दै पाण्डेले धर्म र संस्कृतिका माध्यमबाट देशको भुगोल र प्रकृतिको प्रचार गर्न सकिने तर्क गरे ।

गण्डकी प्रदेशमा कामकाजको भाषाका लागि नेपालीसहित गुरुङ र मगर भाषालाई छिट्टै प्रयोगमा ल्याउने पाण्डेले जानकारी दिए । सरकारले ल्याएको विधेयक संसद्मा दर्ता भएर विषयगत छलफलमा रहेको र यसले बहुसंख्यक जनताको भाषा संरक्षणमा सहयोग पुग्ने मुख्यमन्त्री पाण्डेले विश्वास व्यक्त गरे । उनले स्थानीय मदिरालाई कानूनी रुपमा वैधता दिने र ब्राण्डिङ गरेर बजारमा ल्याउने विषयमा पनि सदनमा छलफल चलिरहेको जानकारी दिए ।

कालिका मन्दिर परिसरमा सयौं वर्षदेखि मेला लाग्दै आएकोमा यसवर्ष धार्मिक सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा देशभरका विभिन्न मठमन्दिरका सन्तमहन्त तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता छ । सम्मेलनमा गुठी संस्थानकोतर्फबाट भीम नेपाल र राजेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । धार्मिक सम्मेलन भोलि बिहीबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->