सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जैमिनीमा जिससको अनुगमनसहित अन्तरक्रिया

जैमिनीमा जिससको अनुगमनसहित अन्तरक्रिया


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८१, बिहिबार

बागलुङ/जिल्ला समन्वय समिति बागलुङको अनुगमन सहितको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम जैमिनी नगरपालिकाको कुश्मिसेरामा बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले स्थानीय तह जनताको नजिकको सरकार रहेकाले जनप्रतिनिधि र कर्मचारीहरुले उनीहरुको मन जित्ने गरी काम तथा सेवा प्रवाहमा गर्नुपर्ने बताएका थिए । पृर्वाधार निर्माणसँगै उत्पादनमा समेत जोड दिनुपर्ने र कार्यान्वयनमा रहेका योजनाहरुको तदारुकताका साथ अनुगमन गर्नका लागि वडाका प्राविधिकहरुलाई खटाउनुपर्नेमा उनको जोड थियो ।

जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले सञ्चालित योजनाको दिगोपनामा जोड दिनुपर्ने बताए । उनले अनुगमनका क्रममा देखिएका विवरणलाई कार्यक्रममा प्रस्तुत गरेका थिए ।

जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले असिमित आवश्यकता रहेको तर सिमित स्रोत, साधन भएकाले सबै आवश्यकता पुरा गर्न नसकेको हुँदा नागरिकमा असन्तुष्टी बढिरहेको बताए । उनले योजना तथा कार्यक्रममा नागरिकको अपनत्व भावनाको विकास हुन नसकेको हुँदा कार्य सम्पादनमा असहज भएको बताए ।

कार्यक्रममा समग्र नगरपालिकाको प्रगति र शिक्षा, युवा तथा खेलकुद विकास शाखाको प्रगति शिक्षा उपसचिव खेम प्रसाद आचार्य, स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद शर्मा आचार्य, पूर्वाधार शाखा प्रमुख इन्जिनियर शिवराज बराल र योजना अधिकृत प्रेम प्रसाद सापकोटा, पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखाका एमआईएस अपरेटर तारा प्रसाद पौडेल, कृषि प्राविधिक पलबहादुर ओली, पशु शाखा प्रमुख डा. अच्युत आचार्य, बालमैत्री सम्पर्क व्यक्ति शिक्षा अधिकृत मिरादेवी शर्मा, राजश्व शाखा प्रमुख भगवती चपाई, विपद शाखा प्रमुख इन्जिनियर विवेक सापकोटा, न्यायिक सहजकर्ता विनिता शर्मा, आयुर्वेद शाखा प्रमुख डा. लक्ष्मी प्रसाद शर्मा, लेखा अधिकृत अम्बिका सापकोटा, महिला विकास निरिक्षक देवी सुनार, सहायक प्रशासकीय अधिकृत ललिता पुन र रोजगार संयोजक सुरेश पुनले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा सम्पन्न भएका क्रियाकलापको प्रस्तुती गरेका थिए ।

जिल्ला समन्वय प्रमुख थापा, सदस्य कौशिला विक, समन्वय अधिकारी गौतम, शाखा अधिकृत ईश्वरलाल शाक्य, नगरप्रमुख पुन, इन्जिनियर शिवराज बराल र विवेक सापकोटा सहितको टोलीले नगरपालिकामा सञ्चालित विभिन्न योजनाहरुको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा बाटो निर्माण कार्यमा ढलान क्षेत्रमा सोलिङ्ग गर्ने ढुङ्गा राम्रोसँग नमिलाईएको, गिट्टीको साईज तोकिएको मापदण्ड अनुसार नभएको भेटिएकाले ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->