तस्बिर : गुगलबाट
पोखरा/पछिल्लो समय हिमालपारीको जिल्ला मुस्ताङमा सर्पहरु देखिन थालेका छन् । गर्मी क्षेत्रमा देखिने सर्पका जातहरु नै मुस्ताङमा देखिने क्रम बढ्न थालेको छ । चैत १२ गते घरपझोङ गाउँपालिका ५ मा रहेको ढुम्बा तालनेर सर्प देखियो । स्थानीयले खिचेको भिडियोमा पहाड तथा तराइ क्षेत्रमा पाइने सर्प भएको स्पष्ट हुन्छ । तर, त्यो कुन सर्प हो त्यो भन्न मुस्किल छ । भारतीय पर्यटकहरुले ढुम्बा तालमा फोटो खिच्ने क्रममा देखिएको सर्पको भिडियो स्थानीय रुपा गुरुङले कैद गरेका कारण त्यहाँ सर्प भएको पुष्टि हुन्छ ।
गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा पनि सर्प भेटिएको थियो । पाक्लीङ र ढुम्बा ताल समुन्द्री सतहदेखि २ हजार ८ सय मिटर उचाइमा छ । ती क्षेत्रमा देखिएका सर्प चिचिण्डे (कमन वल्फ स्नेक) चुडेउ (कमन केट स्नेक) जातका भएको अनुमान छ । मुस्ताङको जोमसोम नजिकैको स्याङखोला क्षेत्रमा सर्प पाइने भनिए पनि खोला कटेर सर्प माथि (माथिल्लो भेगतर्फ) नजाने गरेको स्थानीयहरु बताउँछन् ।
गर्मी हावापानी र मौसम हुने तराइमा पाइने सर्पहरु हिमाली भेग मुस्ताङमा कसरी आइपुगे भन्ने अध्ययनको विषय बनेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने मुस्ताङमा यसअघि सर्प देखिएका थिएनन् । तर, विभिन्न विज्ञका अनुसार हिमाली क्षेत्रमा सर्प नपाइने भन्ने होइन । हिमाली क्षेत्रको पनि तल्लो भागसम्म सर्प पाइने गरेको छ । माथिल्ला क्षेत्रहरुमा पाइनु भने सामान्य विषय होइन । चिसो क्षेत्रमा सर्प पुग्नु जलवायु संकट पनि हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, त्यहाँ जलवायु परिवर्तनको असर हो वा सहज सडक सञ्जालका कारण हो भन्न मुस्किल छ ।
मुस्ताङका विभिन्न क्षेत्रमा नागको थान हुनुले त्यहाँ सर्प पाइने विश्वास पनि छ । बढ्दो मानव संख्याका कारण सर्पको वासस्थानमा असर परेको पनि भन्ने गरिन्छ । तराइ र पहाडमा पाइने सर्प त्यहाँ पाउनु भनेको या त स्थानान्तरण भएर गएका हुन या जलवायु परिवर्तनमध्ये एक हुने विज्ञहरु बताउछन् । सर्पविद् तथा उद्धार कर्ता रोहित गिरीले मुस्ताङमा सर्प देखिनुलाई जलवायु संकट वा स्थानान्तरण भन्ने यत्तिकै भन्न नसकिने बताउँछन् । उनका अनुसार त्यो अध्ययनको विषय हो । हरेक वर्षजसो सर्प देखिनुको पछाडीको कारणबारे अध्ययन हुन आवश्यकता रहेको उनी सुनाउँछन् ।
‘मुस्ताङमा सर्प देखिएको कुरा मैले पनि भिडियो हेरेको थिएँ तर त्यो कुन सर्प हो भनेर छुट्याउन मुस्किल भयो,’ उनले भने । गिरीका अनुसार मुस्ताङमा सर्प देखिनुमा तराइतर्फबाट गएका सवारी मुख्य आधार हुन सक्ने देखिन्छ तर त्यसैमा ढुक्क हुन सक्ने स्थिति भने छैन । ‘त्यहाँ सर्प माइग्रेसन गरेर गए वा कुनै सवारी साधनबाट पुगे त्योबारे कुनै सोध नै भएको छैन,’ उनले भने । तराइबाट जाने गाडी,पाइपहरु तथा विभिन्न खाद्यान्नसँगै सर्प पनि त्यहाँ पुगेको अनुमान गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजनतु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्य चिसो ठाउँमा सर्प हुने दाबी गर्छन् । उनका अनुसार किङ कोब्रा नै हिमाली क्षेत्रमा पाइन थालिसकेको छ । ‘पहिलो कुरा सर्प देखिन थाल्नुको पछाडी सडक सञ्जाल पुग्नु हो । अहिले सहजै सडक जाँदा विभिन्न तरिकाले त्यहाँ सर्प पुगेको हुन सक्छ । यो स्थानान्तरण हो । ‘विशेषगरि तराइ भेगबाट गएका विभिन्न सवारीहरुमार्फत् पुगेको हुन सक्छ,’ त्यसैमा उनी थप्छन्, ‘त्यहाँ देखिएका सर्प त्यही वातावरण अनुकुल हुन्छ वा हुन्न त्यो हेर्नुपर्छ । यसो भन्दैमा जलवायु परिवर्तनको असरपनि हो कि भनेर सोच्न भने पर्ने हुन्छ । जलवायु परिवर्तन हरेक दिन बढ्दो क्रममा छ यसको असर समग्र जीवमासमेत परिरहेको छ । यसको प्रभाव पनि हुन सक्छ ।’
डिभिजन वन कार्यालय मुस्ताङका वन अधिकृत मनोज रानाभाटका अनुसार जोमसोमको ढुम्बा लेकमा सर्प देखिएको थियो । कुन सर्प हो भनेर यकिन नभए पनि लामो र मोटो भएकाले त्यो सर्प त्यहाँ भ्रमण जाने गाडीबाट आएको हुन सक्ने उनको अनुमान छ ।
‘मुस्ताङमा सर्प नै पाइन्न भन्ने होइन् । यहाँ लामा र मोटा सर्प पाइँदैनन तर साना डेढ फुटसम्मका सर्प बेलाबेला देखिने गरेको छ । अहिले जुन सर्प देखियो, मलाइ लाग्छ यो यहाँ वासस्थान बनाएर बसेको होइन । बरु, पहाड वा तराइबाट आउने गाडीमा आएको हुन सक्छ । त्यो सम्भावना बढी छ,’ उनले भने, ‘मेरो विचारमा यो तापक्रम वृद्धि भएर माथि आएको जस्तो लाग्दैन । यस्ता जातका सर्पका लागि यो स्थान अनुकूल नै छैन ।’
अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप लोमाङथान इलाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार मुस्ताङमा सर्प विरलै पाइन्छ । सर्पको क्षेत्रमासमेत काम गरिसकेका उमेशले पछिल्लो समय लगातार सर्प देखिनु अध्ययनको विषय भएको सुनाउँछन् । त्यहाँ देखिएको सर्प विशालु होइनन् । ‘पानीमा देखिएको थियो । यो धेरै विशालु होइन तर यो वासस्थान परिवर्तन हो या स्थानान्तरण के हो,त्यो हेर्न बाँकी छ । यो अध्ययनको विषय बनेको छ,’ उनले थपे, ‘मुस्ताङमा सर्प पाइन्न भन्ने थियो । हाम्रो अध्ययनको कमी हो या के हो हामीले अहिलेसम्म देखेका थिएनौं । त्यसैले यो अध्ययनको विषय बनेको छ ।’
सर्प प्रजाति अनुसार फरक हुन्छ । पानीमा र जमिनमा बस्ने किसिमका हुन्छन् । सिजन अनुसार सर्प चिसो मौसममा देखिँदैनन् । गर्मी मौसममा मात्रै सर्प देखिने गर्दछ । त्यो हिसाबले हेर्दासमेत सर्प चिसो स्थानमा नदेखिनुपर्ने हो । तर, चैतमै चिसो क्षेत्रमा सर्प देखिनु भने आश्चर्यको विषय बनेको छ । कुछपतेरङ्गा गुम्बाका लामाहरुका अनुसार ढुम्वातालको नाग थानमै सर्प देखिनुको कारण धार्मिक महत्वका हिसाबले पनि हेरिएको छ । ८३ वर्षीय रत्नबहादुर थकालीले ढुम्वातालको नाग थानमा सर्प देखिने मानिसहरुबाट सुनेको र गुम्बाका अग्रज लामा शुकु थकालीले पहिले पनि उक्त स्थानमा सर्प देखिएको बताउँछन् ।





