
फाइल तस्बिर
बागलुङ/हरलाई व्यवस्थित बनाउने, पूर्वाधारमा अब्बल र सहरी शासकीय क्षमता विकास गर्न गलकोट नगरपालिकामा ‘सघन सहरी विकास आयोजना’ संचालनमा ल्याइएको छ ।
यो आयोजनाअन्र्तगत नगरको विकासलाई व्यवस्थित बनाउने, विकासले प्रभाव पारेका स्थानीयलाई आयआर्जनमा जोड्ने, नगरको आफ्नै शासकीय क्षमता बढाएर चुस्त बनाउने लक्ष्य राखिएको हो । सघन सहरी तथा भवन डिभिजन आयोजनाको साझेदारीमा नगरपालिकाले ती काम थालेको हो ।
पहिलो चरणमा आयोजनाअन्र्तगत वडा नं. १ दुदिलाभाटी र वडा नं. २ नरठाँटी जोड्ने सडकलाई व्यवस्थित र चौडा बनाईएको छ । चालु वर्षभित्रै त्यस सडकलाई कालोपत्रे गर्ने लक्ष्य छ । त्यसबाहेक कोतघर जाने सडक कालोपत्रे गर्ने, सहरी शासकीय क्षमता विकासका लागि वडा नं. ३ हटियाको भवन निर्माण र आयआर्जनका कार्यक्रमअन्र्तगत किसानका फर्म विस्तार, बजारीकरण र उत्पादन क्षमता बढाउन पहल गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले बताए ।
पूर्वाधारतर्फ धेरै काम चालु वर्षभित्रै सक्ने लक्ष्य बनाएको बागेश्वरी निर्माण कम्पनीका प्रतिनिधि सन्तोष तामाङले बताए । भवनको काम सकिन भने २०८२ को फागुनसम्मको समय तोकिएको छ । नरेठाँटीदेखि दुदिलाभाटी जोड्ने सडक बन्दा किसानको कृषि फसलले सहजै बजार पाउने जनप्रतिनिधिले बताए ।
यो सडक स्तरीय बन्दा छिमेकी बरेङ पुग्न पनि सहज हुनेछ ।’ यो सडक बनिसक्दा दुदिलाभाटी, भण्डारवन लगायतका बासिन्दाले सहजै मुकाम आउन पाउनेछन् । यो क्षेत्रमा बाख्रँपालन, तरकारी खेती, दूधलगायतका कृषि फसल उत्पादन हुने गरेका छन् । सडक अप्ठ्यारो भएकोले समयमा बजार पु¥याउन नपाएका किसान यो सडक बनेपछि खुसी छन् ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले यो कार्यक्रमको प्रत्यक्ष निर्माण गरेको हो । गलकोटलाई सहरी क्षेत्रको रुपमा विकास गर्दै व्यवस्थित सडक, ढल निकास, शासकीय क्षमता विकास गर्ने लक्ष्यले काम शुरु भएको आयोजनाका प्रमुख कृष्णकुमार मर्हजनले बताए । ‘यो एउटा नमूना आयोजना हो, यसको सफलतापछि अन्य काममा पनि साथ दिन्छौँ,’ महर्जनले भने, ‘विज्ञ कार्यालय भएकोले पालिका तहको बिकासमा साथ दिएका हौं ।’
गलकोटमा भवन निर्माण संहिता पालना गराउने, सडक मापदण्डलाई कायम गरेर भवन निर्माणको नक्सापास गराउन पहल गर्ने काममा आयोजनाले साथ दिने छ ।
गलकोट नगरपालिकामा पछिल्लो समय बस्ती विकासको लहरसंगै मध्यपहाडी लोकमार्ग, हटियादेखि ताराखोलाहुँदै म्याग्दी जाने रणनीतिक सडक, डाँडाखेतदेखि सुखौराहुँदै गुल्मीको शान्तिपुर जाने सडकहरु निर्माणाधिन छन् । ती विकासलाई पनि व्यवस्थित बनाउन नगरपालिकाले विज्ञ कार्यालयको साथ खोजेको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।





