काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको आइतबार बेलुका ९७ वर्षको उमेरमा निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
रिसालको जन्म १९८५ साउन २९ मा भक्तपुरको तिथलीमा भएको थियो । भाइ पुरु रिसालका अनुसार वरिष्ठ पत्रकार भैरव रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनको शव अध्ययनका लागि पाटन अस्पताललाई दिइनेछ । वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् । उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए ।
यसैगरी राष्ट्रिय समाचार समितिमा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’ लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।




