आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल भूतपूर्व खेलाडी मञ्च रजत वर्षमा, ‘राष्ट्रिय खेलकुद पुरस्कार’ संगै विविध कार्यक्रम गर्ने

नेपाल भूतपूर्व खेलाडी मञ्च रजत वर्षमा, ‘राष्ट्रिय खेलकुद पुरस्कार’ संगै विविध कार्यक्रम गर्ने


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८१, मंगलबार

पोखरा/ नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च २४ वर्ष पुरा गरी २५ वर्षमा पुग्ने भएसंगै मञ्चले रजत वर्ष महोत्सव गरी आफ्ना कार्यक्रम तय गरेको छ ।

मञ्चले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा रजतवर्षमा आयोजना गरिने विविध कार्यक्रमसंगै खेलकुदमा योगदान पुर्‍याउने एक जनालाई प्रदान गर्ने गरी राष्ट्रिय खेलकुद पुरस्कार स्थापना गर्ने जनाएको हो । मञ्चको आगामी बैशाख ८ गते आफ्नो स्थापना दिन, रजत वर्ष महोत्सव गरी विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ भने अध्यक्ष दिलबहादुर गुरूङको संयोजकत्वमा ३५१ सदस्यिय मुल आयोजक समिति गठन गरेको छ ।

मञ्चका अध्यक्ष गुरूङले रजत वर्ष नेपाली खेलकुद इतिहासमा महत्वपूर्ण क्षणको रुपमा लिएको जनाउँदै मञ्च २५ वर्षमा पुगे संगै नेपाली खेलकुदमा योगदान पुर्‍याउने एकजनालाई नगद १ लाखसहित मेडल तथा सम्मानपत्र प्रदान गर्ने जनाएका छन् । यो पुरस्कार हरेक दुई वर्षमा एकजनालाई दिने गरी स्थापना गरिएको जनाउँदै यो वर्ष रजत महोत्सवको समापन कार्यक्रममा प्रदान गरिने जनाए । मञ्चका अनुसार रजत वर्ष महोत्सवका अवसरमा मासिक, साप्ताहिक दौडलाई निरन्तरतासंगै आमा समुह दौड, पूर्नमिलन कार्यक्रम, अन्तर मावि वक्तृत्वकला त्वकला, चित्रकला प्रतियोगिता, दृष्टिविहिन यू–१२ दौड प्रतियोगिता, पत्रकार दौड प्रतियोगिता, जनप्रतिनिधी दौड, चालक दौड तथा ६० वर्ष माथि सुपर भेट्रान्स दौड प्रतियोगितालाई समावेश गरिएको छ भने गण्डकी प्रदेशको परम्परागत तथा मौलिक खेलको रुपमा रहेको ‘ठेलो खेल प्रतियोगिता’ समेत रजत वर्ष महोत्सवका अवसरमा आयोजना गरिने छ ।

रजत वर्ष महोत्सवकै अवसरमा प्रकाशन गरिने स्मारिका प्रकाशनका लागि द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरिएको छ । मञ्चले आयोजना गर्दै आएको नेपालकै जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरेको छ । मञ्चले २० औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन २ गते आयोजना हुने जनाउँदै खेलाडी दर्ता प्रक्रिया सुरू भएको जनाएको छ ।

१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १२ लाख २९ हजार बचत, अक्षयकोषमा ३१ लाख
यसैगर मंचले आयोजना गरेको १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । गत फागनु ३ गते सम्पन्न पोखरा म्याराथनको आय–व्यय सार्वजनिक गर्दै मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले आम्दानी ९३ लाख ७० हजार ६८९ रुपैंयाँ तथा ८१ लाख ४१ हजार १७७ रुपैंया ९३ पैसा खर्च भई १२ लाख २९ हजार ५११ रुपैंयाँ ७ पैसा बचत गर्न सफल रहेको जनाए ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हाल सम्मकै सर्वाधिक हो । कुनै बेला आर्थिक अभावका कारणका तीन–तीन पटक स्थगित पोखरा म्याराथनले कोभिड पछिका तीन वर्ष घाटा समेत ब्यहोरेको थियो । यस्तै पोखरा म्याराथनको प्रवर्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानिय तहबाट प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्धेश्यले मञ्चले सुरू गरेको अक्षयकोष अभियानमा समेत ३१ लाख ५४ हजार २५६ रुपैयाँ ३३ पैसा संकलन भएको कोषाध्यक्ष बरुवालले बताए । सो अक्षयकोषमा देश विदेशमा छरिएर रहेका मञ्चका आजिवन सदस्य र दिवंगत आजिवन सदस्यका परिवारहरुबाट आफ्ना स्वर्गीय स्वजनको स्मृतिमा रकम प्रदान गरेका हुन् । सो अक्षयकोषमा मञ्चका आजिवन सदस्य तथा डायमण्ड बुद्घिष्ट सेन्टर यूकेका अध्यक्ष योगेश गुरूङले रकम प्रदान गरी सुरूवात गरेका थिए ।

सो अवसरमा मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक संस्था सुजल डेरी प्रालि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद प्रति आभार व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->