पोखरा/दया–माया देखाएर हैन, अवसर सिर्जना गराएमात्र अपाङ्गहरुको आत्मसम्मान वृद्धि हुने एक कार्यक्रममा वक्ताहरुले सुझाएका छन् ।
नेत्रहीन क्रिकेट संघ नेपालको आर्थिक सहयोग र नेत्रहीन क्रिकेट संघ कास्कीको संयाजनमा अभिभावक,शिक्षक र स्कूल समुदायकाबीच भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले अपाङ्गता भएकाहरुका लागि खेलकुदमा जोड्न सकियो भने शारीरिक तथा मानसिक रुपमा पनि निखारता आउने तथ्यमाथि जोड दिए ।
कार्यक्रममा वोल्दै गण्डकी प्रदेशकी सभासद सुनिता थापाले अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने दृष्टिकोण नै विभिदकारी भएकाले यसलाई नीतिगत रुपमा नै ऐन कानून बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् ।
अपाङ्गता महासंघ नेपालका केन्द्रीय सदस्य रमेश पोखरेलले दृष्टिविहीन क्रिकेट सुरु भएपछि करिब एक हजारभन्दा बढी खेलाडी उत्पादन भएका तथा अन्तर्राष्ट्रियस्तरका खेलकुदमा सहभागिता सम्भव भएको बताए ।
नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।





