तनहुँ/लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्कस्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले गुणस्तरीय ल्याबका सेवा र विशेष विशेषता प्राप्त चिकित्सको परामर्श सित्तैमा उपलब्ध गराउने कार्य प्रशंसनीय भएको बताए ।
मधुमेह, थाइराइड तथा हर्मन रोगमा डिएम गरेका डा अधिकारीले व्यायाम, खानपानमा उचित ध्यान र औषधोपचारमा ध्यान दिए मधुमेह लागिसकेपछि पनि स्वस्थ व्यक्तिसरह जीवनयापन गर्न सकिने उल्लेख गरे ।
व्यास नगरपालिकाका मेयर बैकुन्ठ न्यौपानेले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको दायित्वमा निजी क्षेत्रले सहकार्य गर्नु खुसीको कुरा भएको जनाए ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनादेखि नै व्यवसायसँगै सामाजिक उत्तरदायित्व र गुणस्तरीय सेवालाई सँगसँगै लगिएको जनाए । युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६ औं शिविर हो ।





