बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

किन दिइन् शिक्षामन्त्री भट्टराईले राजीनामा, नयाँ मन्त्री को ?

किन दिइन् शिक्षामन्त्री भट्टराईले राजीनामा, नयाँ मन्त्री को ?

‘शिक्षामन्त्री अहिले नै नेपालको शिक्षा प्रणाली बदल्नका लागि उपयुक्त समय भएकोले विधेयकमा कतिपय परिवर्तन गरेर जान तयार हुनुहुन्थ्यो'


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८२, सोमबार

काठमाडौं / शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार आन्दोलन जारी राखेपछि मन्त्री भट्टराईले राजीनामा दिएको स्रोतको भनाइ छ। मन्त्री भट्टराईले भने मन्त्रालयका अधिकारीसँग आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएकी छन्।

उनले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा बस्न तयार भएका छैनन्। विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि शिक्षकहरूले दिँदै आएका छन्।
भट्टराईको राजीनामासँगै नयाँ शिक्षामन्त्रीको खोजी हुन थालेको छ। ढोरपाटनले नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालाई सोध्यो। जवाफमा उनले भनेका छन्, ‘नयाँ शिक्षामन्त्री को हुने भन्नेबारे टुङ्गिन केही दिन लाग्ला। त्यो प्रधानमन्त्रीज्यूले लिने निर्णय हो, आवश्यक छलफल गर्छौँ।’

भट्टराई नै पनि रहन सक्ने बर्तौलाले बताए। नयाँ ल्याउनुपर्ने अवस्था आए पनि केही दिन समय लाग्ने उनले बताए। ‘एमालेबाटै हुन्छ तर, कहिलेसम्म भन्नेबारे अहिल्यै केही भन्न सकिँदैन।’ प्रधानमन्त्रीज्यूले आफूलाई सहज लाग्ने र आफूसँग सहकार्य गर्न सक्ने ल्याउनुहोला’, उनले भने। एमालेबाट नयाँ शिक्षामन्त्रीमा अन्जान शाक्य. पदम गिरी  लगायतको आकांक्षा रहको बताइएको छ ।

त्यसो त भट्टराई प्रधानमन्त्री ओलीसँग सन्तुष्ट थिइनन्। २०८१ चैत २० गतेयता निरन्तर आन्दोलनरत शिक्षकहरूको मागको सन्दर्भलाई लिएर भट्टराई प्रधानमन्त्री ओलीबाट आफूलाई चाहिँदो सहयोग नभएको निष्कर्षमा पुगेकी थिइन्।

यसअघि हिमालय टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा उनले यही आशयको अभिव्यक्ति दिँदै राजीनामा दिन सक्ने बताएकी थिइन्। उनले शिक्षकहरूको मागको सम्बोधनका लागि प्रधानमन्त्री ओलीसँग मात्रै होइन, सभामुख देवराज घिमिरेसँग पनि वार्ता गरिन्। तर, सभामुख घिमिरेले संसद्को यो अधिवेशनमा शिक्षकहरूको माग पूरा गर्न नसकिने ठाडो जवाफ दिए।

उता प्रधानमन्त्री ओली पनि शिक्षकहरूको मागको सन्दर्भमा सकारात्मक सुनिँदैनन्। विभिन्न सार्वजनिक मञ्चहरूमार्फत शिक्षकहरूलाई ‘विद्यालय फर्किहाल्नू’ आशयका निर्देशन दिने गरेका ओलीले सबै माग सम्बोधन गर्न नसकिने दोहोर्‍याउँदै आएका थिए। शिक्षकहरूको दबाब र प्रधानमन्त्री तथा सभामुखको अड्डीको चेपुवामा परेका भट्टराईले अन्ततः राजीनामा नै दिइन्।

के कारणले शिक्षा मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् भन्ने प्रधानमन्त्री, उनको सचिवालयले बताइसकेको छैन। मन्त्री भट्टराईको सचिवालय भने स्वास्थ्यको कारण भनिरहेको छ।यद्यपि मन्त्री भट्टराई विद्यालय शिक्षा विधेयकमाथि संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले बनाएको उपसमितिले गर्ने छलफलमा दिनहुँजसो सहभागी हुँदै आएकी थिइन्।

समितिका एक सांसदका अनुसार विधेयक छलफलमा मन्त्री र शिक्षा मन्त्रालयका सचिवबीच कुरा बाझिने गरेको देखिन्थ्यो। ‘शिक्षामन्त्री अहिले नै नेपालको शिक्षा प्रणाली बदल्नका लागि उपयुक्त समय भएकोले विधेयकमा कतिपय परिवर्तन गरेर जान तयार हुनुहुन्थ्यो, तर प्रत्येकचोटि शिक्षा सचिवले स्रोत साधनले पुग्दैन, अहिले सम्भव छैन भन्दै टार्नुहुन्थ्यो,’ ती सांसदले ढोरपाटनसँग भने, ‘उहाँ सचिव परिवर्तनका लागि प्रधानमन्त्रीसँग आग्रह गर्दै हुनुहुन्थ्यो।’

एमालेकै अर्का एक सांसदका अनुसार मन्त्री भट्टराईले शिक्षकको माग सम्बोधन गर्न प्रधानमन्त्रीसँग कुराकानी गर्ने र प्रधानमन्त्री तयार नभए राजीनामा दिने संकेत गरेको बताए।  ‘चैत २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघसँग मन्त्रीज्यूले ७ बुँदामा सहमतिको ड्राफ्ट तयार पार्नुभएको थियो, उहाँले आजै ती प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी पनि गर्नुभएको थियो,’ मन्त्री भट्टराईनिकट ती सांसदको भनाइ छ, ‘त्यस विषयमा उहाँले मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्रीसँग कुराकानी पनि गर्नुभयो।’

मन्त्री भट्टराईले प्रस्ताव गरेको ७ बुँदामा प्रारम्भिक बाल विकासका शिक्षकको तलब १७ हजार ३०० बनाउने, यस्ता शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषको प्याकेज बनाउने र समावेश गर्ने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन गर्ने, मर्यादाक्रम कायम गर्ने, हाललाई निजामती अस्पतालबाटै शिक्षकहरूको उपचारमा छुटको व्यवस्था गर्ने कुरा थिए।

यो प्रस्ताव तयार पारेर शिक्षामन्त्री भट्टराईले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि कुराकानी गरेकी थिइन्। ‘यो प्रस्ताव मन्त्रिपरिषदमा लैजानुअघि उहाँले स्रोत सुनिश्चित गर्न अर्थमन्त्रीसँग पनि हिजो बेलुकी कुराकानी गर्नुभएको थियो,’ मन्त्री भट्टराईनिकट स्रोतले भन्यो, ‘तर अर्थमन्त्रीज्यूले ती प्रस्ताव कार्यान्वयन गर्न बजेट दिन नसक्ने भन्नुभयो। उहाँहरूबीच नोकझोक नै भयो।’

७ बुँदे प्रस्तावका लागि स्रोत सुनिश्चित गर्न सक्ने अवस्था नरहेको अर्थमन्त्री पौडेलको भनाइ थियो। ‘आफूले समस्या समाधानका लागि पहल गरे पनि सरकार र पार्टीबाट सहयोग नपाएको भनेर उहाँले राजीनामा दिनुभएको हो,’ मन्त्री भट्टराईनिकट स्रोत भन्छ, ‘काम गर्न रोक्ने हो भने किन सरकारमा बसिरहने ?’

शिक्षकहरूले आफूलाई घेराबन्दी गरिरहेका बेला सरकार, अर्थमन्त्री, एमालेबाट साथ नमिलेको पनि निकटहरूसँग मन्त्री भट्टराईले गुनासो गर्दै आएकी थिइन्। उनले सोमबार बिहानैदेखि राजीनामाको मनस्थिति बनाएकी थिइन्।

‘शिक्षकहरूले घेराबन्दी गरिरहेका छन्, यस्तो अवस्थामा समस्या समाधान गर्न सहयोग नगर्ने हो भने म राजीनामा दिन्छु भनेर उहाँले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिनुभएको हो,’ उनीनिकट स्रोतले भन्यो।

एमालेका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री ओली र मन्त्री भट्टराईको सम्बन्ध पछिल्लो समय सुमधुर थिएन। ‘शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा आउनुअघि नै शिक्षामन्त्रीले प्रधानमन्त्रीलाई भेट्न खोज्नु भएको थियो तर सचिवालयले समय मिलाइदिएन। प्रधानमन्त्रीलाई फोन गर्दा स्वकीय सचिव राजेश बज्राचार्यले उठाए, प्रधानमन्त्रीलाई फोन दिनुस् भन्दा कुरा भन्नुस् म नै सुन्छु भन्ने जबाफ दिएका थिए,’ ती पदाधिकारीले भने, ‘प्रधानमन्त्रीलाई फोन नदिएपछि रिसाउँदै शिक्षा मन्त्रीले म राजीनामा दिने हो भनेर फोन राखिदिनुभएको थियो।’

आफूलाई प्रधानमन्त्री, प्रधानमन्त्री सचिवालय र पार्टीका नेताहरूबाट सहयोग नभएको र प्रधानमन्त्रीलाई भेट्नसमेत नपाएकोमा उनले अपमानित भएको महसुस गरिरहेको ती पदाधिकारीको भनाइ छ। साथै यसबीचमा शिक्षक महासंघसँग कुराकानी गर्दा आफूलाई प्रधानमन्त्रीले थाहा नै नदिएको गुनासो पनि मन्त्री भट्टराईको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->