पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखाका अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गिरीले कार्यालयमा परेका उजुरीहरूसँग सम्बन्धित प्रमाण नष्ट गरी उजुरी फरफारक गर्ने कार्यमा सहयोग पुर्याउने बहानामा सेवाग्राहीसँग घुस माग गरेको अख्तियारले जनाएको छ । गिरीले सेवाग्राहीसंग प्रत्यक्ष रुपमा २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई गत चैत ७ गते रंगेहात नियन्त्रणमा लिएको थियो । गिरीले अख्तियारमा उजुरी परेका सम्बन्धमा प्राप्त पत्रलाई असर पुर्याउने उद्देश्यले सेवाग्राहीसँग सो रकम माग गरी लिएको पाइएको आयोगको भनाई छ । आयोगले गिरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुरमा २५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ (१) (क) अनुसार कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजार सहित उनी चैत ७ गते महानगरको कार्यालय नजिकैबाट पक्राउ परेको थिए । महानगरपालिकामा अख्तियार सम्बन्धी उजुरीको जवाफदेही अधिकारी रहेका गिरीको अख्तियारले सोधेका प्रष्टीकरण वा प्रश्नहरुको महानगरपालिकाका तर्फबाट जवाफ पठाउने जिम्मेवारी हो । सोही आधारमा महानगरकै अर्का कर्मचारीसँग तिम्रोविरुद्ध अख्तियारमा उजुरी छ म मिलाइदिन्छु भनी गिरीले घुस मागेका थिए ।





