शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

व्यावसायिक तालिम प्रतिष्ठानमा सापकोटा र प्रदेश प्रतिष्ठानमा तिवारी

व्यावसायिक तालिम प्रतिष्ठानमा सापकोटा र प्रदेश प्रतिष्ठानमा तिवारी


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८२, बिहिबार

पोखरा/गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । यस्तै प्रदेश सरकार मातहत नै रहेको गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सोमनाथ सापकोटालाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तिवारी र सापकोटालाई कार्यकारी नियुक्त गर्ने निर्णय गरेको गण्डकीका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले जानकारी दिए ।

तिवारीको कार्यकाल ५ र सापकोटाको ४ वर्षको हुनेछ । तिवारी सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र सापकोटा एमाले निकट हुन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत स्थापित प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी एवं कर्मचारीको क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहका कार्यक्रम कार्यान्वयनमा सहजीकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवं शासकीय क्षमता अभिवृद्धिका लागि काम गर्छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित समितिको सिफारिसमा सरकारले तिवारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । सो समितिमा न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक प्रशासन हेर्ने सचिव बाबुराम गौतम सदस्य सचिव रहेका थिए । समितिले तिवारीसँगै अन्तिम तीनमा परेका भानु पराजुली र श्रीकृष्ण पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । तीमध्येमा तिवारीलाई कार्यकारी निर्देशक बनाइएको हो । तिवारीसँग पोखरा महानगपालिकाको सहरी योजना आयोगको सदस्य भएर काम गरेको अनुभव छ ।

मुख्यमन्त्री कार्यालयले १५ दिने म्याद राखेर कार्यकारी निर्देशकको माग गरेकोमा विजयभक्त उपाध्याय, झपेन्द्रश्वर भुसाल, योगेन्द्रराज रिजाल, भानु पराजुली, लिलाधर सुवेदी, कुमारकञ्चन जिसी, डा. होमनाथ गैरे, श्रीकृष्ण पौडेल, विजय वाग्ले थिए । यसैगरी बाबुराम केसी, डा. गोविन्दबहादुर लामिछाने, सुरेन्द्रबाबु तिवारी, प्रभात अर्याल, प्राडा. कुसुमाकर न्यौपाने दरखास्त परेको थियो । कार्यकारी निर्देशकको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्र्तीण गरेको र कम्तिमा १० वर्षको अनुभव भएको वा स्नातक तहपछि १५ वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान राखिएको थियो । छनोट समितिले दुईजनाको आवेदन योग्यता नपुगेको भन्दै रद्द गरेको थियो भने बाँकी १२ मध्ये ६ जनालाई अर्को सूचीमा समावेश गरी उनीहरुसँग व्यावसायिक कार्ययोजना मागेको थियो । त्यसबाट तीनजनालाई समितिले सिफारिस गरेको हो ।

गण्डकी प्रदेशका लागि आवश्यक प्राविधिक तथा व्यावसायिक तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने योजनासहित ऐन बनाएर २०७७ सालमा प्राविधिक तालिम केन्द्र तथा व्यावसायिक तालिम प्रतिष्ठान खोलिएको थियो ।

गण्डकीका संस्थापक मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङले २०७८ वैशाखमा प्रतिष्ठानमा डा. सापकोटालाई नियुक्त गरेका थिए । उनको कार्यकाल सकिएपछि त्यो पद खाली थियो । हालै प्रतिष्ठानको संरचना निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गरेको छ । कोइकाले स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर १ गुर्धुममा प्रतिष्ठानलाई प्राप्त भएको १ सय ६० रोपनी जग्गामा संरचना र प्राविधिक शिक्षाका आवश्यक पर्ने प्रयोगशालादेखि अन्य भौतिक निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->