पोखरा/ पोखराको बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज सम्पन्न भएको छ ।
बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो। र्यालीमा स्थानीयवासी र युवाको सहभागिता रहेको थियो।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्यालीले स्वास्थ्य, वातावरण संरक्षण, र पर्यटन प्रवर्द्धनको सन्देश प्रवाह गरेको बताए । “यो र्यालीले इन्धनको बचत, मानव स्वास्थ्यको प्रवर्द्धन, र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पुर्याउने हाम्रो लक्ष्यलाई सार्थक बनाएको छ,” उनले भने । उनले ले र्यालीमा सहभागी सबैलाई धन्यवाद दिँदै पोखरेलीहरूलाई महायज्ञको अभियानमा जोडिन आह्वान पनि गरे ।
मानवसेवा फाउण्डेशनका अनुसार, कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। बैशाख १२ गते ट्याक्सी र्याली, बैशाख १३ गते मोटरसाइकल र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली, र बैशाख १६ गते बृहत् कशेली यात्रा आयोजना हुने कार्यक्रम रहेको छ। यो साइकल र्यालीले धार्मिक, सामाजिक, र पर्यटकीय सन्देशलाई एकसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्वलाई थप उजागर गरेको आयोजकको भनाइ छ।
कोटीहोममा सुश्री अनुराधा पाण्डेयले भागवत कथा प्रबचन चैत्र २९ बाट दिन समेत सुरु गरेकी थिइन् । देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् । कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म बिरौटाको सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा हुनेछ ।





