शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

फिर्के पुल निर्माणको सम्झौता रद्ध

फिर्के पुल निर्माणको सम्झौता रद्ध

पटकपटक म्याद थप्दा पनि पुल नबनेपछि डिभिजन सडक पोखराले ठेक्का सम्झौता रद्ध गरेको हो


  • लालप्रसाद शर्मा
  • बैशाख ११ २०८२, बिहिबार

पोखरा/ साढे २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको पुलको काम ७ वर्ष पुग्नैलाग्दा ४० प्रतिशत पनि काम नभएपछि पोखरा बागलुङ भूपी शेरचन मार्ग अन्तर्गत पोखरा महानगरपालिका–५, ४ र २ जोड्ने फिर्केखोला माथिको पुल निर्माण सम्झौता रद्ध भएको छ ।

डिभिजन सडक कार्यालयले बैशाख १० मा ठेक्का अन्त्य गर्ने निर्णय गर्दै विहीबार फरफारक सम्बन्धी सूचना सार्वजनिक गरेको छ । सम्झौता बमोजीम निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेका कारण र कार्य सम्पन्न गर्न सक्ने कार्यतालिका, श्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिवद्धतासहित उपस्थित भई कार्य सूचारु गर्नेतर्फ तदारुकता नदेखाइएको भन्दै कार्यालयले ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको हो । पुल निर्माणको जिम्मा श्री शान्ति–आरोग्य जे. भी., सानेपा ललितपुरले लिएको थियो ।

‘यस डिभिजनको मिति २०८२/०१/१० को निर्णय अनुसार सार्वजनिक खरीद ऐन २०६३ को दफा ५९ (७) तथा सार्वजनिक खरीद नियमावली २०६४ को नियम १२१ (ग) र ठेक्का सम्झौताको प्रावधान बमोजिम ठेक्का सम्झौता अन्त्य गरिएको छ’, डिभिजन सडकको सूचनामा भनिएको छ, ‘खरीद ऐन २०६३ को दफा ६३, नियमावली २०६४ को नियम १४१ र ठेक्का सम्झौताको प्रावधान बमोजीम कालो सूचीमा राख्न सिफारिश गरिने तथा खरीद ऐनको दफा ५९ (८) र ठेक्का सम्झौताको प्रावधान बमोजिम कार्य सम्पादन, पेश्की जमानत र धरौटी वापतको रकम जफत गरिने छ ।’ खरीद ऐन २०६३ को दफा ५९ (३) बमोजिम हालसम्म अध्यावधिक भएको काम र बाँकी कामको नापजाँच गरी मुल्यांकन गर्न डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, कोष तथा लेखा नियन्त्रक कार्यालय कास्की र निर्माण व्यवसायी वा नीजको आधिकारीक प्रतिनिधिको रोहवरमा सूचना प्रकाशित भएको मितिले ८ औं देखि १५ औं दिनभित्र गरिने व्यवहोरा सूचनामा छ । माथि भनिएका कार्यालयका प्रतिनिधिहरु तथा निर्माण व्यवसायी वा नीजको प्रतिनिधि उपस्थित नभएमा डिभिजन कार्यालयका प्राविधिक प्रतिनिधिबाट मात्रै भए पनि फोटोसहित उक्त नापजाँच गरिने कार्यालयले जनाएको छ । साथै खरीद ऐनको दफा ५९ (८) बमोजिम बाँकी कार्य गर्न लाग्ने खर्च, त्रुटी सच्याउन लाग्ने खर्च, भुक्तानी भइसकेको तर बिग्रेभत्केको कारण पुनर्निर्माण गर्नुपर्ने अवस्थाको परिणाम वापतको रकम, बनेको संरचना संरक्षण गर्न लाग्ने खर्च, जफत हुने पेश्की रकमको १० प्रतिशतका दरले लाग्ने ब्याज र अन्य खर्च सरकारी बाँकी सरह असुल उपर गर्नेतर्फ कारवाही गरिने पनि सूचनामा भनिएको छ ।

पोखरा–बागलुङ अर्थात् भूपी शेरचन मार्गको सुरुबिन्दु जिरो किमीदेखि विन्ध्यावासिनीसम्मको ४ किमी सडक २०७३ मा ६ लेनको बनेको थियो । विन्ध्यावासिनीदेखि हरिचोकसम्म पनि अहिले ६ लेनको सडकले पूर्णता पाएको छ । सडक ६ लेनको तर पुल भने २ लेनको मात्रै भएपछि दिनहुँ सवारी दुर्घटना हुन थालेको र पैदल यात्रुलाई समेत सकस भयो । त्यसपछि उक्त २ लेनको पुलको दायाँबायाँ थप २÷२ लेनको पुल बनाएर सडक र पुलको एकरुपता बनाउने योजना अनुसार पुल निर्माणको सम्झौता भएको थियो । पुल अतिरिक्त सौन्दर्य देखिने गरी नेपालमै नमूना खालको अर्थात सिग्नेचर टाइपको स्पेशल एक्स्ट्रा डोज्ड (पायरको सपोर्टमा केवल हालेर टावर) खालको बनाउन ठेक्का सम्झौता भयो ।

२०७५ असोज ८ मा शान्ति आरोग्यलाई ३० महिना अर्थात २०७७ चैत ३० मा पुल निर्माण सक्ने गरी ठेक्का दिइयो । भ्याट, कन्टेन्जेन्सीलगायत १७ करोड १० लाख १० हजारमा सडक डिभिजन कार्यालय पोखरासंग ठेक्का सम्झौता भएको थियो । त्यसमा ठेकेदारले खानेपानीको पाईप र नहरको व्यवस्थापन पनि गर्नुपथ्र्यो । तर ठेकेदोरले कुनै काम गरेनन् । कामै नभएपछि २०७८ असोज २२ मा काम सक्नेगरी २०७८ असार २३ मा पहिलोपटक म्याद थपियो । तर पनि काम अघि बढेन । ठेकेदारले कोभिड, स्थानीयको अवरोधजस्ता कारण देखाए । फेरी २०७९ भदौ ६ मा दोस्रोपटक म्याद थपेर २०८० असार २७ सम्म पु¥याइयो । काम भने अघि बढेन । २०८० असार ३१ मा फेरी तेस्रोपटक म्याद थपेर २०८१ असार २० सम्मको समय दिइयो, तर निर्माणको कामले कुनै गति लिन नसकेपछि सम्झौता रद्ध गर्ने अवस्थामा पुगेको डिभिजनले जनाएको छ ।
पुलको एकातर्फको छेउतर्फका २ वटा पिल्लर बनाइएको छ । बीचमा वाई आकारको पायर पनि बनाइएको छ । ती पिल्लर र पायर जोडेर पुलको ढलान गर्नुपर्नेमा ठेकेदारले कुनै काम नै अगाडि बढाएन । अर्कोतर्फ खानेपानीको पाइप र नहर पनि भएकाले कुनै काम सुरु हुन सकेकै थिएन । तलपट्टी पाइप अड्याउने स्ट्रक्चरको काम भइरहेको भनेर ठेकेदार कम्पनीले ढाँटेको थियो । ‘हालसम्म बित्तिय प्रगति २१ प्रतिशत र भौतिक प्रगति करिव २५ प्रतिशत रहेको छ’ डिभिजन सडक पोखराका इन्जिनियर पुजन श्रेष्ठले भने, ‘ठेकेदारले समयमै काम नगरेको र फेरी पनि काम गर्ने अवस्था नदेखिएपछि सम्झौता रद्ध गर्नुपर्ने अवस्थामा पुगेका हौ ।’

सुरुका वर्षमा मुआब्जाका कारण काम रोकिए पनि २०७९ असोजमा मुआब्जाको काम सकिएको थियो । साथै जग खन्ने क्रममा ड्रिल मेशिनै भाँचिएपछि डिजायन संसोधन गर्नुपरेको थियो । स्थानीयको अवरोध, कोरोना, डिजायन परिवर्तनजस्ता बहाना बनाएर ठेकेदारले काममा ढिला गरिरहेको थियो । ‘पछिल्लोपटक थपिएको म्यादमा पनि काम नभएपछि ठेक्का तोड्ने अवस्थामा पुगेका हौ’, डिभिजन सडक प्रमुख नवराज बास्तोलाले भने । उनले अव अर्थ मन्त्रालयको स्रोत सुनिश्चितताको सहमति लिएर पुल निर्माणका लागि पुन ठेकका आव्हान गरिने बताए ।

सडक फराकिलो र पुल साँघुरो हुँदा व्यस्त शहरको यस ठाउँमा पटकपटक सवारी दुर्घटना हुने गरेको छ । केहीले ज्यान गुमाएका त कतिपय घाइते भएका छन् । कतिपय सवारी साधन खोलामा खसेका छन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->