सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गंगादेवी शेरचनको हत्यामा संलग्नलाई जन्मकैद

गंगादेवी शेरचनको हत्यामा संलग्नलाई जन्मकैद


  • अनिष पाठक
  • बैशाख ११ २०८२, बिहिबार

बागलुङ/गंगादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला भएको छ । शेरचन हत्याको २७ महिनापछि जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले तीन जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

धुलिखेल नगरपालिका ७ काभ्रेका शिवबहादुर तामाङ, बडिगाड गाउँपालिका ७ असारे माझखर्क घर भई गलकोट नगरपालिका १ दुदिलाभाटी बस्ने थमन बहादुर घर्ती, मकवानपुर घर भई चन्द्रागिरि नगरपालिका १० काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई जन्मकैदको फैसला भएको जिल्ला अदालत गुल्मीका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

त्यस्तै डाँकाचोरी मुद्दामा तीनै जनालाई १०/१० वर्ष कैद र एक/एक लाख जरिवानाको फैसला समेत भएको छ । खनालले कसुर गर्ने तीन जनाबाट मृतकको जाहेरवालालाई एक/एक लाख क्षतिपूर्ति भराउने फैसला पनि भएको बताए ।

बागलुङ बडिगाड गाउँपालिका २ स्थायी घर भई गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार नजिकै न्वारामा ३० वर्षदेखि होटेल सञ्चालन गर्दै आएकी ५८ वर्षिय शेरचन २०७९ साल माघ १५ गते मृत फेला परेकी थिईन् । शेरचन आफ्नै घरभित्र हातखुट्टा र मुखमा टेप बाँधिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

अनुसन्धानको क्रममा हत्यामा संलग्न धुलिखेल नगरपालिका ७ काभ्रेका शिवबहादुर तामाङलाई २०७९ चैत २८, बडिगाड गाउँपालिका ७ असारे माझखर्कका थमनबहादुर घर्तीलाई २०७९ फागुन २२ र मकवानपुर घर भई चन्द्रागिरि नगरपालिका १० काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई २०७९ फागुन २३ गते प्रहरीले पक्राउ गरेको थियो ।

सोही घटनामा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ का ३९ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले दुई वर्षपछि २०८१ फागुन २७ गते काठमाडौँबाट पक्राउ गरेको छ । तामाङका अरू धेरै मुद्दा भएकाले जिल्ला नआइसकेको गुल्मी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->