सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जैमिनीमा मेलमिलाप सम्बन्धी पुर्नताजगी तालिम

जैमिनीमा मेलमिलाप सम्बन्धी पुर्नताजगी तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८२, शुक्रबार

बागलुङ/जैमिनी नगरपालिकाले मेलमिलापकर्ताका लागि पुर्नताजगी तालिम सम्पन्न गरेको छ । अघिल्ला दुइ वर्षसम्म ८ दिनको आधारभूत तालिम संचालन गरेको र उनीहरुमार्फत वडा मेलमिलाप केन्द्र स्थापना भैसकेकोले पुर्नताजगी तालिम संचालन गरेको जैमिनी नगरपालिका न्यायिक समितिका संयोजक तथा उपप्रमुख हरिहर शर्माले बताए ।

तालिममा केन्द्रमार्फत मेलमिलापकर्ताले गरेका कामको समीक्षा, आएका समस्याको समाधान र मेलमिलापका लागि नागरिकलाई प्रेरणा दिने विषयमा सहजीकरण गरिएको थियो । जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद उपाध्याय र अधिवक्ता गीता श्रीषले तालिममा सहजीकरण गरेका थिए ।

जैमिनी नगरपालिकाले पछिल्लो समय न्यायिक सम्पादन चुस्त र नागरिक स्तरमा लैजानका लागि वडा तहमै दक्ष मेलमिलापकर्ता उत्पादनमा जोड दिएको हो । यो अभियान स्वरुप वडा स्तरीय मेलमिलाप केन्द्र थप व्यवस्थापनका लागि आवस्यक सामाग्री र तालिम संचालन गरेको हो भने मेलमिलापकर्ताको सारा खर्च समेत नगरपालिकाले दिने गरेको छ ।

त्यस बाहेक समुदायमै मेलमिलापको वातावरण बनाउन आमा समूहको पहिलो जैमिनी सम्मेलन पनि गर्न लागेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । साथै, १० वटै वडामा न्यायिक सचेतना अभियान संचालन गरिने भएको छ । त्यस बाहेक हरेक मावि तहमा पनि न्यायिक सचेतना दिएर विद्यालय तहका बालबालिकालाई नै समाजमा सभ्य नागरिक बन्ने र झैझगडा अन्त्य गर्न सघाउने योजना बनाएको न्यायिक समितिका उजुरी प्रशासक सुरेश ओलीले जानकारी दिए ।

तलिम उद्घाटनमा नगरप्रमुख नरबहादुर पुनले समाजमा हुने विवादको समाधानमा मेलमिलापकर्ताले राम्रो भूमिका खेलेको बताए । उनले घरघरमा हुने पतिपत्निको झगडा मिलाउन भने धेरै मेहेनत गर्नुपरेको सुनाए । उनले स्थानीय तहलाई सरकारको रुपमा लिंदा न्याय निरुपणलाई पनि प्रभावकारी बनाउनुपर्ने भएकोले नगरपालिकाले वडा तहमै बढी लगानी र तालिम संचालन गरेको उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले समुदायमा न्याय निरुपण गर्ने र मेलमिलाप गराउने कामले जिल्ला र माथिल्लो तहमा मुद्दाको चाप घट्ने बताए । व्यवहारिक न्याय वडा तहबाटै पाउन सकिने उनको भनाई थियो ।

उक्त अवसरमा जैमिनी नगरपालिकाका वडा अध्यक्ष, वडा सचिव र अन्य सदस्यहरुले नागरिकता, जन्मदर्ता लगायतका काममा परेका अप्ठ्याराबारे प्रजिअ गुरुङसँग छलफल पनि गरेका थिए । कार्यक्रम उपप्रमुख हरिहर शर्माको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->