बुटवल / लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् ।
यो कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए । कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले बताए ।लुम्बिनीकै स्थानीय बासिन्दा सांसद गुप्ता जनमत पार्टीका हुन् । उनी पूर्वसामाजिक विकास मन्त्रीसमेत हुन ।
एमाले नेता समेत रहेका मन्त्री ढकालले बहिष्कार भन्दा पनि प्रदेशका मन्त्री र सांसदलाई बस्ने ठाउँ समेत व्यवस्था नभएको देखेपछि उभिएर बस्न सम्भव नदेखेर कार्यक्रम स्थल बाट हिँडेको प्रतिक्रिया दिए ।
सांसद गुप्ताले भने संघीय सरकार मातहत रहेकाले लुम्बिनी विकास कोषले प्रदेशका मन्त्री, सांसद र स्थानीयलाई बारम्बार उपेक्षा गर्ने गरेको टिप्पणी गरे । उनले संघीयताको मर्म अनुसार लुम्बिनी विकास कोषमा प्रदेशको अधिकार र अपनत्वको लागि अब बहस चलाएर अधिकार बाँडफाँट हुनुपर्ने बताए । ‘लुम्बिनीका स्थानीयले आफ्नो जग्गा दिएर संरक्षण गरेर विकास कोष बनेको हो, यति धेरै संरचना बनेका हुन् तर कोषले स्थानीयलाई न अपनत्व दिलाएको छ न सम्मान दिएको छ’, ‘ गुप्ताले भने ‘अब हामी स्थानीयको सहयोगमा आफ्नो अधिकार स्थापित गर्न लाग्छौं ।’

लुम्बिनी बचाउ संघर्ष समितिका रामविकास चौधरीले कोषको व्यवहारबाट स्थानीय सन्तुष्ट नभएको र कोषलाई प्रदेश सरकार मातहत ल्याई पदाधिकारी स्थानीय हुनुपर्ने माग विगत देखि राख्दै आएको बताए ।वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो ।
कार्यक्रमका लागि चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।
बुद्धको शिक्षालाई आत्मसात् गर्ने बेला आयो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी विश्वशान्तिको उदगम थलो भएको बताएका छन् । उनले शान्ति, मानवता, करूणा र मित्रता विश्वमा बढदै गएको बताए । चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियारहरु चुनौत बनेको बताए । उनले विश्वभर नै बुद्धका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै बुद्धको शिक्षालाई आत्मसात् गर्ने बेला आएको बताए । बुद्वले आफ्नो निजी सुखसयल छाडेर मानव कल्याणका लागि दरबार छाडेको बताउँदै बुद्धको जीवनबाट मानव जातिले धेरै कुरा सिक्नुपर्ने बताए ।
बुद्धका शान्तिमैत्री विचारहरूलाई जिवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुशरण गरी विश्व शान्ति कायम गर्न सकिने बताए । ‘विगतमा बुद्वका विचार, सिद्वान्तहरू सिध्याउन खोजेका थिए, बुद्धका शालिक तोडिएको पनि थियो’ प्रधानमन्त्री ओलीले भने, ‘जति गरेपनि बुद्धका विचार तिनीहरुले मार्न सकेनन ।’
प्रधानमन्त्री ओलीले चौथौ एसियाली बौद्ध साँस्कृतिक महोत्सवमा अफ्रिका, यूरोप, पूर्व एसिया, अमेरिका सहित विभिन्न देशबाट आएका पाहुनाहरुलाई बुद्ध जन्मस्थलमा स्वागत गरे । प्रधानमन्त्री ओलीले लुम्बिनीमा आवश्यकताले अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र बनेको बताउँदै उनले यसलाई व्यस्थित बनाउन आफू सहयोग गर्न तयार रहेको बताए ।
महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेय, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमन्त्री कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा लगायतको उपस्थिति रहेको थियो । महोत्सवमा भिक्षु ,भिक्षुणी, लामा, उपासक उपासिका एवं बौद्धमार्गीहरुको सहभागिता रहेको छ ।





