पोखरा/ जंगलमा लागेको डढेलो निभाउन गएको जीप दुर्घटना हुँदा पाल्पाको सिद्देश्वरमा ३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन जाने क्रममा भएको दुर्घटनामा परी स्थानीय ३६ वर्षीय दीपेन्द्र बुढामगर, ३१ वर्षीय चेतनारायण विक (सुनार) र २३ वर्षीय जनक रेगामी मगरको आइतबार राती मृत्यु भएको हो । बुढामगर र सुनारको घटनास्थलमै र रेग्मीको उपचारका लागि पाल्पा सदरमुकाम तानसेन लैजाँदै गर्दा बाटोमा मुत्यु भएको वडाध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए। लु १ ज २३७७ नम्बरको जीपमा सवार २७ वर्षीय रञ्जन रेश्मी मगर र २३ वर्षीय सोनु (सरोज) बुढा घाइते भएका छन् ।
घाइतेमध्ये मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त जीप सडकदेखि झण्डै १ सय ५० मिटर तल खसेको थियो । जीप सर्वोत्तम खानी हुँदै ठूलो पोखरा जाने क्रममा दुर्घटनामा परेको हो । उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





