पोखरा/जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक बर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) को नतिजा सार्वजनिक गरेको छ ।
मंगलबार सार्वजनिक भएको नतिजा अनुसार कुल सय अंक भारमा रूपा गाउँपालिकाले ६८ प्रतिशत ,अन्नपूर्ण गाउँपालिकाले ६६.५ प्रतिशत मादी गाउँपालिकाले ६१.५ प्रतिशत, पोखरा महानगर पालिकाले ४७.५ प्रतिशत र माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत अंक प्राप्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले नतिजा सार्वजनिक गरेलगत्तै कास्कीका पालिकाहरूको वित्तीय सुशासनको अबस्था अपेक्षाकृत सुधार हुन नसकेको उल्लेख गरे ।
प्रमुख पौडेलले ४० प्रतिशतभन्दा तल उच्च जोखिम ,४० बाट ८० प्रतिशतसम्म मध्यम जोखिम र ८० भन्दामाथि अंक प्राप्त गर्ने पालिका न्यून जोखिममा रहेको भन्दै आगामी वर्षका नतिजामा सुधार गर्ने गरेर आफ्ना कार्य सम्पादन गर्न पालिकाहरू थप गम्भीरतापूर्बक लाग्नुपर्ने बताए ।
बित्तीय सुशासनको विषय पालिकाहरूले उच्च प्राथमिकतामा राख्नुपर्ने भन्दै पौडेलले पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउनु जरुरी भएको उल्लेख गरे । कार्यक्रममा स्वागत जिसस कास्कीका उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।





