पोखरा / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले अबको दशक समाजवादको दशक हुने बताएका छन् । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा गण्डकी प्रदेशले विहिवार पोखरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लवले देशमा चौतर्फी निराशा बढिरहेको भन्दै अवको दशक आशाको सञ्चार गराएर उथलपुथलसहितको समाजवाद र नेकपा दशक हुने बताए ।
माओवादी जनयुद्धलाई आतंककारी र लुटपाटको संज्ञा दिने पुरातनवादी शक्तिलाई को अपराधी हो भन्ने देखाईदिने चेतावनी दिए । सरकारप्रति आक्रोसित विप्लवले केपी ओलीको उखान टुक्काले देशले समाधान नपाउने भन्दै यसको लागि वृहत् समाजवादी मोर्चा र ईमानदार क्रान्तिकारी एवम् प्रगतिशील शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
प्राप्त गणतन्त्रको उपलब्धिलाई बदनाम र गलत सावित गराउने विभिन्न शक्ति समुहहरु रातदिन षड्यन्त्र गरेको बताउदै विप्लवले पुरानो भुतप्रेत फर्काउने सपना नदेख्न चेतावनी दिए । अग्रगामी आन्दोलन मार्फत देशलाई नयाँ ढंगको निकास दिने बताउदै विप्लवले राजनीतिक समीकरण फेरबदल मार्फत क्रान्तिकारी उथलपुथल हुने बताए ।
एमाले पार्टीप्रति लक्षित गर्दै विप्लवले पार्टी सदस्यता गनेर नबस्न आग्रह गर्दै नयाँ ढंगको कदम चाल्न इमान्दार कार्यकर्तालाई अपिल समेत गरे । कार्यक्रममा प्रदेश इन्चार्ज उमा भुजेल, पिविएम आजाद खड्का ,राजन घिमिरे, आस्था तमु, जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे लगायतले श्रमिक दिवसको वारेमा वोले ।





