बागलुङ/जिल्लाको जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा तथा प्रमाणिकरण गरेको हो ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा खोप समन्वय समितिका संयोजक अमर बहादुर थापाले पूर्ण खोप सुनिश्चितता घोषणा गरे । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । थापाले स्वास्थ्य क्षेत्रमा अभियानका रुपमा चल्ने यस्ता कार्यक्रम देख्दा सामान्य लागेपनि मानव जीवनको महत्वपूर्ण पाटो भएको बताए ।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख थापाले जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनलाई हस्तान्तरण गरे । सो अवसरमा नगर प्रमुख पुनले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई बञ्चित गराउन नहुने बताए ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद शर्माले बताए । शर्माले भने, ‘राष्ट्रिय खोप तालिका अनुसार नगरका १० वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।’
नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । वडास्तरीय खोप समन्वय समितिले बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङ प्रमुख घनश्याम सापकोटाले बताए । नगरका ०–१५ महिना उमेर समूहका ३ सय १३ जना नियमित खोप लगाईरहेका र १६ देखि २३ महिना उमेर समुहका २ सय २६ जनालाई खोप दिएपछि नगर पूर्ण खोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताए ।





