बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

डाक्टर र स्वास्थ्यकर्मी सहर तथा सुगममै बढी

डाक्टर र स्वास्थ्यकर्मी सहर तथा सुगममै बढी

कतै ३ जना, कुनैमा २९ जनासम्म


  • लालप्रसाद शर्मा
  • बैशाख २३ २०८२, मंगलबार
oplus_2

पोखरा/संघीय सरकारले प्रदेशमा पठाउने छात्रवृत्ति चिकित्सक तथा स्वास्थ्यकर्मी (करार) लाई सुरु पदस्थापना र सरुवा गर्नेसम्बन्धी स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले २०८१ असोज २३ मा एउटा मापदण्ड बनायो ।

नेपाल सरकारबाट छात्रबृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१, छात्रबृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ एवं अन्य प्रचलित कानून बमोजिम स्वास्थ्य सेवा विभागबाट छात्रबृत्ति करारको सम्बन्धित पदमा नियुक्त भई गण्डकी प्रदेशका लागि खटिइ आउने छात्रबृत्ति चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गण्डकी प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुमा पदस्थापना तथा सरुवा गर्ने प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन मापदण्ड बनाइएको थियो । मापदण्डमा चिकित्सक तथा स्वास्थ्यकर्मीले प्राथमिकतासहित आफू खटिन चाहेका कम्तीमा ३ वटा स्वास्थ्य संस्था उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै सुरुको पदस्थापन कास्कीा निकायमा नगरिने तर स्वास्थ्य संस्थाको सेवा अवरुद्ध हुने एवं विशेष जिम्मेवारी दिनुपर्ने अवस्था भएमा बाधा भने नपर्ने भनिएको छ । यसैगरी एउटै स्वास्थ्य संस्थामा एकै विषयसंग सम्बन्धित स्नात्तकोत्तर उत्तीर्ण जनशक्ति बढीमा २ जनामात्र खटाउन सकिने, सर्जरी लगायतको शल्य विषयको विशेषज्ञ चिकित्सक खटाउँदा एनेस्थेसियासम्बन्धि जनशक्ति कार्यरत रहेको अस्पतालमा खटाइने मापदण्डमा छ । सरुवा गर्दा पदस्थापना भएको निकायमा एक वर्ष सेवा अवधि पुगेको, भौगोलिक क्षेत्र क र ख मा सेवा गरिसकेकालाई भौगौलिक क्षेत्र ग र घ मा, स्थायी ठेगाना, कास्की जिल्लामा सुरु पदस्थापना भएकालाई एक वर्षपछि अनिवार्य रुपमा कास्की जिल्ला बाहिरको स्वास्थ्य संस्थामा पठाइने तर सेवा अवरुद्ध हुने एवं विशेष जिम्मेवारी दिनुपर्ने अवस्था आएमा कास्कीका स्वास्थ्य संस्थामा निरन्तरता दिन बाधा पर्ने छैन भन्ने पनि मापदण्डमा राखिएको छ । मन्त्रालयको सचिवले स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिको अवस्था, सेवाग्राहीको चाप र चिकित्सक एवं स्वास्थ्यकर्मीको स्थायी ठेगानाका आधारमा पदस्थापन गर्ने उल्लेख छ ।

तर, आफैले बनाएको मापदण्ड कार्यान्वयनका लागि मन्त्रालयलाई भने सकस परेको छ । विशेष गरी दुर्गमका स्थानमा पठाउन खोजे पनि चर्को राजनीतिक दवावका कारण मन्त्रालयले शहरी क्षेत्र र सुगमकै स्वास्थ्य संस्थामा करारका स्वास्थ्यकर्मीलाई पठाउन बाध्य भएको छ । सुरु पदस्थापन कास्कीका स्वास्थ्य संस्थामा नगर्ने भनिए पनि कार्यान्वयन हुन सकेको छैन । यसका लागि विभिन्न राजनीतिक दल, स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य प्रादेशिक संरचनाबाट चर्को दवाव आउने गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालय अन्तर्गतका विभिन्न ३१ वटा स्वास्थ्य संस्थामा झन्डै २ सय छात्रबृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मी संघले पठाएको छ । मन्त्रालयको प्रशासन शाखाले सोमबार उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी धौलागिरी अस्पताल बागलुङमा २९ जना, मातृशिशु मितेरी अस्पताल पोखरामा २३ जना, गोरखा अस्पतालमा १८, दमौली अस्पताल तनहुँमा १७, बेनी अस्पताल म्याग्दीमा १६ जना चिकित्सक तथा स्वास्थ्यकर्मी (छात्रबृत्ति करार) खटाइएको छ । यसैगरी आँपपिपल अस्पताल गोखरामा २, गण्डकी आयूर्वेद औषधालय कास्कीमा २, मनाङ अस्पतालमा ३, मुस्ताङ अस्पतालमा ५, स्याङजा अस्पतालमा ८, लमजुङ अस्पतालमा १०, पर्वत अस्पतालमा ११ जना, नवलपुरको मध्यबिन्दु अस्पतालमा १४ जना पठाइएको छ ।

सर्सर्ती हेर्दा सुगमकै स्वास्थ्य संस्थामा बढी स्वास्थ्यकर्मी खटाएको देखिएको छ । यसले भौगोलिक रुपमा दुर्गम वा बढी सेवाग्राही हुने अस्पतालमा यस्ता स्वास्थ्यकर्मी जान नमानेको देखिन्छ । मन्त्रालय बनाएको मापदण्डविपरीत एउटै पदका २ जनाभन्दा बढी पनि स्वास्थ्यकर्मी खटाएको अवस्था रहेको छ । नेपाल सरकारको छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ अनुसार छात्रवृत्तिअन्तर्गतका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सम्बन्धित सेवा समुह तथा उपसमुह अन्तर्गत मिल्दो क्षेत्रमा काममा लगाउने गरी दरबन्दी कायम गरिएको छ । जसअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रमा एकएक जना, अस्पताल र जिल्लास्तरका अस्पतालमा २२ जना, उपक्षेत्रीय, क्षेत्रीय र केन्द्रीयस्तरका अस्पतालमा तीनतीन जना पठाउन सकिने निर्देशिकामा छ । तर उक्त निर्देशिकाको गण्डकीमा कार्यान्वयन हुन सकेको छैन । उदाहरणस्वरुप अस्पतालहरुमा मेडीकल अधिकृतको विवरण हेर्दा हुन्छ । दमौली अस्पताल तनहुँमा १०, मातृशिशु अस्पताल कास्कीमा ९ जना, धौलागिरी अस्पतालमा ५, क्षयरोग उपचार केन्द्र पोखरामा ४, पर्वत र गोरखा अस्पतालमा ६ ६ जना, स्याङ्जामा २, लमजुङ अस्पतालमा ३ र नवलपुरको मध्यबिन्दु अस्पतालमा ६ जना रहेका छन् । अन्य पदमा पनि सुगम र सहरकै अस्पतालमा बढी स्वास्थ्यकर्मी खटाइएको छ ।

यस्ता करारका स्वास्थ्यकर्मीलाई २ वर्षका लागि पठाउन सकिने र तलब भत्ता सबै संघ सरकारले उपलब्ध गराउँछ । स्वास्थ्यकर्मीले सेवाग्राहीको स्वास्थ्य परीक्षण, उपचार र अनुगमन गर्नुपर्छ । तर पहुँचको भरमा सुगमका र कम सेवाग्राही आउने स्वास्थ्य संस्थामा पुग्ने कतिपय स्वास्थ्यकर्मीले हाजिर मात्रै गरेर अन्यत्रै काम गर्न जाने सरोकारवालाले बताएका छन । यस्तो अवस्थाले दुर्गमका सेवाग्राही सेवाबाट बन्चित भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा.बिश्वबन्धु बगालेले यस्ता करारका स्वास्थ्यकर्मी काठमाडौं, पोखरा, चितवनजस्ता सुगममै बस्न चाहने गरेको बताउँछन । ‘कतिपय स्वास्थ्य संस्थामा केही छात्रबृत्ति करारका स्वास्थ्यकर्मी डम्प भएका हुन् कि भन्ने लागेको छ,’ उनले भने, स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्वबन्धु बगालेले भने, ‘खटाएको ठाउँमा सकभर नजाने, घरपायक खोज्ने र आफूले भनेको ठाउँमा नभए फेरी संघमा गएर भनसुन गरेर सुगममै आउने त्यो पनि नभए गण्डकी प्रदेश बाहिर जाने गर्दछन् ।’ उनले आफू ३ महिना अघिमात्रै मन्त्रालयमा आएकाले मापदण्ड विपरीत नगएको तर त्यसअघिको भने सबै कुरा थाहा नभएको बताए ।

स्रोतहरुका अनुसार विभिन्न दलका नेताहरुको सुगममा (पोखराकै अस्पतालमा) खटाउन भन्दै मन्त्रालयमा निकै दवाव आउने गरेको छ । मन्त्रालयका यस अघिका सचिव बिनोदबिन्दु शर्मालाई पनि चर्को दवाब आएको थियो । उनले केही करारका स्वास्थ्यकर्मीलाई नेताले भनेको ठाउँमा नखटाउँदा सचिवबाटै हटाएर स्वास्थ्य तालिम केन्द्रमा पठाइएको मन्त्रालयमै चर्चा हुने गरेको छ । आफू नियमसंगत रुपले चलेको बताउँदै शर्माले यस विषयमा भने बोल्न चाहेनन् । विशेष गरी पोखराको बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा सुरुकै पदस्थापन गर्न र पछि सरुवा गरिदिन भन्दै चर्को दवाव आउने गरेको मन्त्रालय स्रोतले जनाएको छ । ‘नेताका नजिकका चिकित्सकको पहिलो रोजाइ नै मातृशिशु हुने गरेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यही भएर नेताको फोर्स लगाउने गर्छन, बिरामीलाई सेवा दिनेभन्दा पनि डम्पिङ गर्ने अस्पताल बनेको छ ।’ हाल २५ शैय्याको मातृशिशुमा दैनिक एक सयदेखि डेढ सयसम्म बिरामी आउँछन । यहाँ १ जना स्त्रीरोग बिशेषज्ञ, १ जना बालरोग विशेषज्ञ, ४ जना मेडिकल अफिसरसहित ३८ जनाको दरबन्दी रहेकोमा अहिले एकसय २० भन्दा बढी कार्यरत छन । त्यसबाहेक ४३ जना अस्पताल बिकास समितिबाट, २३ जना छात्रबृत्ति करार, १६ जना प्रदेश करार र ९ जना कार्यक्रम करारका चिकित्सक तथा स्वास्थ्यकर्मी खटाइएको छ । प्रदेश करारमा पनि नेताको भनसुनबाट यहाँ जाने गरेका छन । प्रदेशभरी प्रदेश करार अन्तर्गत १६३ स्वीकृत दरबन्दी रहेकोमा केही खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धेरैजसो चिकित्सक र स्वास्थ्यकर्मीको घर पोखरा भएकाले घर पायक खोज्दा मातृशिशु रोज्ने गरेका हुन् । मन्त्रालयले पठाएकालाई अस्पतालले हाजिर गराएर काममा लगाउने गरेको छ । तर फोर्स लगाएर आउने भएकाले अस्पताल प्रशासनले उनीहरुलाई काममा भने राम्रोसंग लगाउन नसक्ने अस्पताल श्रोतले जनाएको छ । ‘अस्पतालले माग नगरे पनि मन्त्रालयले खुरुखुरु पठाउने गरेको छ । यसले संस्था चलाउन गाह्रो भएको छ । साउनदेखि यताको मात्रै बिमाको रकम साढे ३ करोड भन्दा बढी सरकारबाट लिनुपर्ने छ,’ अस्पताल स्रोतले भन्यो, ‘संस्थामा स्वास्थ्यकर्मी थुप्रिएका छन् । तर उनीहरुबाट आवश्यकतानुसारको सेवा लिन सकिएको छैन् ।’ अस्पतालका मेसु डा.धर्मदेव ढकालले २५ शैय्याको अस्पताल भए पनि ५४ शैय्याको सेवा दिइएको र स्वास्थ्यकर्मी अझै अपुग भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->