सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राष्ट्रमा समस्या आउँदा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छ : राजमो अध्यक्ष केसी

राष्ट्रमा समस्या आउँदा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छ : राजमो अध्यक्ष केसी


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०८२, शुक्रबार

बागलुङ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् । ‘‘इतिहास बनिसकेको राजतन्त्र फर्काउने नाउँमा प्रतिगामी तत्वहरु सल्बलाउन थालेका छन्’’ शुक्रबार दिउँसो राष्ट्रिय जनमोर्चाले बागलुङ बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केसीले भने, ‘‘राष्ट्रमा समस्या आउँदा सबै संसदभित्र र बाहिर रहेका गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुको विकल्प छैन ।’’

राजवादी शक्तिको चलखेलले मुलुक फेरी अध्यारोतर्फ धकेलिन थालेको आशंका व्यक्त गर्दै केसीले धरापमा परेको लोकतान्त्रिक गणतन्त्रलाई बचाउन संसदमा रहेका राजनीतिक दलहरुले एकअर्का बीच रहेको मतभेदको विरोध गर्दै एकजुट हुनुपर्ने बताए । २००७, ०४६ र ०६२÷६३ सालमा सबै राजनीतिक दल एकजुट भएकै कारण राणा, पञ्चालय र राजतन्त्र ढलेको स्मरण गर्दै अध्यक्ष केसीले भने, ‘‘लोकतान्त्रिक गणतन्त्र रहे मतभेद गर्न पाइन्छ, नरहे के गर्ने ।’’

गणतन्त्रलाई फालेर फेरी राजतन्त्र संभव नै नभएको केसीको भनाई थियो । जनताले २ सय ४० वर्ष राजतन्त्र व्यहोरेको बताउँदै केसीले जनताको लामो संघर्ष र ठूलो बलिदानपछि प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षतालाई जोगाउन परिवर्तनकारी सबै दल एक ठाउँमा उभिनुपर्ने केसीले धारणा व्यक्त गरे ।

अध्यक्ष केसीले मुलुकको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए । राजनीतिक नेतृत्वले राष्ट्र र जनताको लागि राजनीति नगरी परिवारवादमा रमाउँदा अहिले लाखौं युवाहरूले देशबाट पलायन भएको बताए । ‘‘राजनीति र देशप्रति निराशा व्यक्त गरिरहेको युवा र विद्यार्थीमा उर्जा भर्न अहिलेको शिक्षा प्रणाली घातक छ, शिक्षा राज्य चलाउनुपर्छ, कलकारखाना राज्यले चलाउनुपर्छ’’ केसीले भने ।

केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महसुस गरिसकेको दाबी गरे । कमजोर देशका लागि संघीयता देश र जनताको हितमा नभएको कुरा दिनको उज्यालो झैं छर्लङ्ग रहेको बताउँदै केसीले प्रादेशिक संरचना औचित्य समाप्त भएको बताए । प्रदेश संरचनाको आर्थिक व्ययभारले देश धराशायी बनेको चर्चा गर्दै केसीले भने, ‘‘स्थानीय तहलाई थप सुदृढ र अधिकारसम्पन्न बनाउनुपर्ने आवश्यकता छ ।’’

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी र जिल्ला समितिका सल्लाहकार भिमसेन बनले मन्तव्य गरेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष तिलक थापाको अध्यक्षता, सचिवालय सदस्य लक्ष्मी बास्कोटाको स्वागत र सचिव भिमलाल पोखरेलको संचालनमा सम्पन्न भएको थियो । जनमोर्चाले बैसाख २० गतेदेखि २६ गतेसम्म पालिका स्तरीय विरोधको कार्यक्रम संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->