बागलुङ/अन्तराष्ट्रिय बागलुङ समाजका पदाधिकारी टोलीलाई नेपाल पत्रकार महासंघ बागलुङ शाखाले स्वागत गरेको छ । महासंघका अध्यक्ष राम थापा ‘अविरल’ सहितका पदाधिकारीले उक्त टोलीलाइ आफ्नै भवनमा स्वागत गरेको हो ।
शनिबार आयोजित स्वागत कार्यक्रममा समाजका कावा अध्यक्ष दिपकदत्त गौतमसहित गंगाधर गौतम र सोम सापकोटालगायत सहभागि थिए । समारोहमा बोल्दै कावा अध्यक्ष गौतमले नेपाल पत्रकार महासंघ बागलुङको संस्थागत विकासमा समाजले काम गर्ने बताए । उनले जिल्ला भित्रको सामाजिक विकास, आर्थिक विकास र सामाजिक सेवाको अभियानमा परियोजना संचालन गर्ने र त्यसका लागि पत्रकार महासंघ लगायतको साझेदार संस्थाको खोजी भएको पनि बताए ।
समाजको शनिवार बागलुङमा सम्पन्न हुन लागेको सम्मेलनका लागि टोली आएको हो । टोलीलाई महासंघमा स्वागत गर्दै अध्यक्ष राम थापा ‘अविरल’ले महासंघ संस्थागत विकासमा अगाडि बढेको, पत्रकार लेखनवृत्ति कोष निर्माणमा लागेको, पत्रकार दुर्घटना बीमा कार्यक्रम अभियानमा सक्रिय भएको जानकारी गराए । उनले महासंघको संस्थागत विकासमा एनआरएनए लगायतका संस्थाको साथ र सहयोगको लागि आग्रह पनि गरे ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष रुद्रहरि चौलागाईलाई पनि स्वागत गरियो । महासंघको संस्थागत विकास तथा अन्य गतिविधिमा भैरहेका कामबारे उक्त अवसरमा अन्तरक्रिया पनि भयो । बागलुङ शाखाको बारेमा उपाध्यक्ष सुवास आचार्य र लुम्बिनी समितिको बारेमा चौलागाईले जानकारी गराए ।
यसैबीच समाजका पदाधिकारीलाई बागलुङ नगरपालिकाले पनि स्वागत गरेको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पदाधिकारीलाई स्वागत गर्दै नगरपालिकाको कामकारवाहीबारे जानकारी समेत गराए । उक्त अवसरमा एनआरएनएको तर्फबाट गंगाधर गौतमले जानकारी गराए । समाजको प्रत्यक्ष ८० जना र भर्चुचल रुपमा २ सय बढीको सहभागितामा बागलुङमा सम्मेलन भएको उनले बताए । सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ ।





