पोखरा/गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले अहिलेको विश्व परिबेशमा भगवान गौतम बुद्धको उपदेश झन उपयोगी हुने गरेको बताएका छन् ।
२५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले लेकसाइड खहरे स्थित पेमा धेछेन्लिङ गुम्वामा शनिबार आयोजना गरेको प्रवचन कार्यक्रम उदघाटन गर्दै थापाले छिमेकी मुलुकबीच चर्केको द्वन्द्व, रुस युक्रेनबीचको युद्धले मानव जगतलाई अशान्त तुल्याएकोमा चिन्ता व्यक्त गरे ।
उनले नेपालमा २५ सय ६९ बर्ष अघि जन्मिएर पनि आजको विश्व परिबेश सुहाँउदो उपदेश र ज्ञान दिएर भगवान गौतम बुद्धले मानब सभ्यतालाई गुन लगाएको बताए । बुद्धले देखाएको मार्गमा चल्न सके विश्वमा शान्ती छाउने उनको भनाइ थियो । उनले पोखराको लेकसाइड नजिकै निर्माण भएको गुम्बा पर्यटकीय आकर्षणको केन्द्र बन्दै गरेको सन्दर्भमा प्रदेश सरकारले पनि गुम्बा निर्माणका लागि आर्थिक सहयोग गर्ने बताए ।
कार्यक्रममा खेम्पो आचार्य सम्तेन लामाले भगवान गौतम बुद्धको बुद्धत्व, परिनिर्वाण तथा उपदेशबारे प्रवचन दिएका थिए । उनले मानिसको दुखको कारण तृष्णा भएको साथै तृष्णालाई जित्न सके दुखलाई जित्न सकिनेमा जोड दिए । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा महात्मा गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण समेत भएकाले योे तिथिलाई संसारका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका (बुद्ध जयन्ती) रूपमा मनाउने गरेको उनले स्मरण गरे ।
पोखरामा आयोजित बुद्ध जयन्ती मुल समारोहकै साप्ताहिक कार्यक्रमअन्र्तगत भएको प्रबचन कार्यक्रममा बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले सबैको सहयोगमा पेमा धेछेन्लिङ गुम्वाको निर्माण गरिएको र यो गुम्वा पनि पोखराको धार्मिक पर्यटकिय गन्तब्य बनेकोमा खुसी प्रकट गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र पहारी, पेमा धेछेलिङ गुम्बाको प्रमुख लामा, नेपाल तामाङ लामा घेदुङको संघिय अध्यक्ष गुरु पाल्देन लामा, सुनिता लामा, रोश्मा तामाङले बोलेका थिए ।
गुम्वामा बुद्ध जयन्तीको दिन पुजा तथा वाङ कार्यक्रम राखिएको पनि समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।





