बागलुङ/प्रेस सेन्टर बागलुङले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला उपाध्यक्ष अनिष खाती, सल्लाहकार राजेशचन्द्र राजभण्डारी लागयतको टोलीले १० बुँदे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयका नायव सुब्वा राम प्रसाद उपाध्यायलाई हस्तान्तरण गरेको हो ।
ज्ञापन पत्रमा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढेकोप्रति चिन्ता व्यक्त गरिएको छ । विश्वमा नेपालको प्रेस स्वतन्त्रता सूचक खस्किएको, सञ्चारसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भइरहेको, सञ्चार कानुन निर्माणका लागि प्रस्तावित भई छलफल भइरहेका विधेयकका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने र स्वतन्त्र पत्रकारितामा बाधा पु¥याउने खालका रहेको, पत्रकारको हत्या, आक्रमण, भौतिक तथा पेशागत असुरक्षा, निर्माणाधिन सञ्चारसँग सम्बन्धित कानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने कतिपय प्रावधानबाट प्रेस सेन्टर नेपाल चिन्तित र गम्भिर बनेको भन्दै सेन्टरले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यामा संलग्न राजावादी समूहका नाइकेहरुलाई कानूनी कारबाही गर्न र पत्रकार रजकलाई सहीद घोषणा तथा परिवारलाई उचित राहत प्रदान गर्न सेन्टरले माग गरेको छ । ‘राजावादी समूहबाट सञ्चार गृहका सवारी साधन तोडफोड, विभिन्न सञ्चारकर्मीमाथि भएको भौतिक आक्रमण, सञ्चार सामाग्री तोडफोडको निन्दा गर्दै सञ्चार गृह र सञ्चारकर्मीहरुको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउँदछाँैँ’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
साथै, श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न माग गर्दै कानून बन्ने र कार्यान्वयन नहुने अवस्थाको अन्त्यका लागि ऐनअनुसार तत्काल प्रेस रजिष्ट्रारको कार्यालय स्थापना र रजिष्ट्रार नियुक्त गर्न समेत समेत सेन्टरले माग गरेको छ ।





