शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आधुनिक संसद भवन बनाउँदै गण्डकी

आधुनिक संसद भवन बनाउँदै गण्डकी

०८४ को चुनावपछि प्रयोगमा आउनेछ नयाँ भवन


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८२, मंगलबार

पोखरा/गण्डकी प्रदेशसभाको बैठकका लागि आफ्नो भवन छैन । नदिपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको भवनलाई संसद् भवनको रूपमा एक कार्यकाल प्रयोग गरिसकिएको छ भने दोश्रो कार्यकालमा पनि सोही भवनमा नै प्रदेशसभा बैठक बस्दै आएको छ । कोरोनाकालमा सामाजिक दूरी कायम गर्न भनेर पोखरा सभागृहलाई पनि संसद् बैठक भवनको रूपमा प्रयोग गरिएको थियो ।

तर, गण्डकीको संसद् भवन भनेकै त्यही प्रशिक्षण केन्द्रको पानी चुहिने भवन नै हो । अहिले पनि प्रदेशसभा भवन त्यही भवनमा नै बस्दै आएको छ ।

०७४ माघ ७ गते प्रदेशसभा सदस्यको सपथदेखि ०७९ भदौ ८ गतेसम्म प्रदेशसभाको पहिलो कार्यकाल चल्यो । यही पुरानो भवनले नै प्रदेशको नाम गण्डकी र राजधानी पोखरा पनि तोक्यो ।

०७९ पुस १४ गते दोश्रो कार्यकालका प्रदेशसभा सदस्यहरुले सपथ ग्रहण गरे । उनीहरुले सपथग्रहण गरेपछि रंगरोगन गरिएको सोही पानी चुहिने भवनमा नै अहिले पनि प्रदेशसभाको कामकारवाही चल्दै आएको छ ।पहिलो कार्यकालदेखि नै हो, गण्डकी प्रदेशसभाको आफ्नै भवन बनाउने घोषणा गरिएको ।

निकै आकर्षक र कलात्मक बनाउने भनेर प्रदेशसभा भवनको डिपिआर पनि नगरिएको होइन । तर, आफ्नो बलबुतामा गण्डकी सरकारले उक्त भवन बनाउन नसक्ने देखिएपछि दोश्रो कार्यकालमा पनि भवनको पुनः डीपीआर प्रक्रिया थालिएको थियो ।

अहिलेको प्रदेश सभा भवन २०४९ सालमा निर्माण भएको हो । केही प्रिफ्याबका भवनहरू निर्माण गरेर संसदीय दल र समितिको कार्यालय खडा गरिएको छ ।

अन्ततः हरेक वर्षका नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा रहँदै आएको गण्डकी प्रदेशसभा भवन निर्माणकार्य ७ वर्षपछि अगाडि बढेको छ ।

नगर विकास प्रशिक्षण केन्द्रको स्वामित्वमा रही प्रदेश सरकारसँग भोगाधिकार भएको १ सय १० रोपनीमध्ये ७ रोपनी क्षेत्रफलमा नयाँ भवन बन्नेछ ।

भवन निर्माणको ठेक्का श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंले पाएको छ । यो जेभीसँग शहरी विकास तथा भवन कार्यालय कास्कीले भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा माघ १८ मा निर्माण सम्झौता गरेको हो । अहिले निर्माणस्थलको सफाइको काम कम्पनीले थालनी गरेको प्रदेशसभा सचिवालयका एक अधिकारीले जानकारी दिए । सम्झौतापत्र अनुसार नयाँ भवन ३६ महिना (३ वर्ष) भित्र निर्माण गरिसक्नुपर्ने हुन्छ ।

प्रदेशसभाको पहिलो कार्यकालमा सरकारले १ अर्ब ४१ करोड रुपैयाँको इस्टिमेट तयार गरेको थियो । प्रदेश सरकार एक्लैले त्यति ठूलो लगानी गर्न नसक्ने र संघ सरकारले पनि सहयोग नगर्ने भएपछि त्यतिबेला काम अघि बढेन । यसपटक भ्याटसहित ४४ करोड ९४ लाख ९१ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरिएको थियो । ०८१ साउन २१ मा बोलपत्र आव्हान् गरिएकोमा ३५ निर्माण कम्पनीले भवन बनाउने प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २६ कम्पनी छनोट भएकोमा सबैभन्दा कम लागत प्रस्ताव गरेको श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँ बानेश्वर काठमाडौंले निर्माणको जिम्मा पाएको हो ।

२५ करोड रुपैयाँ खर्च गरेर पोखरा–३ नदीपुरस्थित हालकै भवन पछाडिपट्टि ७ रोपनी क्षेत्रफलमा नयाँ भवन बनाउन लागिएको हो ।

उसो त, यो जग्गा प्रदेश संरचना आउनुअघि क्रिकेट मैदानको रुपमा प्रयोग हुँदै आएको थियो । प्रदेश राजधानीमा रहेको क्रिकेट खेल्ने जग्गा मासिएको भनेर केही विरोध नभएको पनि होइन ।

अहिले सोही जग्गामा भवन बनाउन लागिएको हो ।जसका लागि निर्माण व्यवसायीले २ करोड २१ लाख ९० हजार रुपैयाँ मोबिलाइजेसन रकम पनि लगिसकेको छ ।

सहरी विकास तथा भवन कार्यालय कास्कीअन्तर्गत सरकारले चालु आर्थिक वर्षमा प्रदेशसभा भवन निर्माणका लागि करिब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सम्झौतामा उल्लेख भए अनुसार भवन तीन तलाको बन्नेछ । भुइँतलामा पाँचवटा संसदीय दलको बैठक कक्ष र पाँचवटा भीआइपी कार्यालय हुनेछन । मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवालय सचिवको कार्यालय यही तलामा हुनेछ ।

संसद बैठक कक्ष पनि यही तलामा हुनेछ । जहाँ ७८ जना अटाउन सक्ने क्षमताको हल बन्नेछ । गण्डकी प्रदेशसभाको अहिलेको भवनमा एउटामात्र हल छ । जहाँ मुस्किलले ६० जना प्रदेशसभा सदस्य अट्ने व्यवस्था गरिएको छ । सांसदहरु बस्ने हलकै एक छेउमा सरकारी कर्मचारी र सरकारी निकायका अधिकारीहरु बस्ने गरेका छन् ।

सांसदहरु बस्ने कुर्चीभन्दा पछाडि प्लाष्टिक र आलमुनियम प्रयोग गरि अस्थायी बार बनाइएको छ । दर्शकर्दीर्घादेखि मिडियालाई सोही क्षेत्रमा बस्ने व्यवस्था गरिँदै आएको छ ।
नयाँ बन्ने भवनमा भने ७८ जना अट्ने गरी च्याम्बर बन्नेछ । साथै पिजन होल, सामान्य र भीआईपी कक्ष, मार्सल अफिस, कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फेरेन्स र टिभी स्टुडियो सोही तलामा रहनेछन् ।

दोस्रो तलामा ८० जना क्षमताको दर्शक दीर्घा, बहुउद्देश्यीय बैठक कक्ष, स्टोर र बार्दली रहनेछ । भुइँतला १ हजार ८४५ वर्ग मिटर र पहिलो तला १ हजार ४९६ वर्ग मिटरको क्षेत्रफलमा हुनेछ । भवनको डिजाइन एमएस स्केल आर्किटेक प्रालिले बनाएको हो ।

तेस्रो तलामा के–के राख्ने भन्ने तय भएको छैन । भवनमा २ वटा लिफ्ट पनि हुनेछ । भवन बाहिरपट्टि चमेनागृह, पार्किङ बनाइनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->